१९ चैत्र २०७९, आइतबार | Sun Apr 2 2023


निर्माण सम्पन्न गर्ने म्याद नाघेको सात महिनापछि बल्ल पुलको पिलर उठाउन सुरु


0
Shares

युवराज रोइला

खोटाङ, जेठ ३० । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका जोड्ने साप्सु खोलाको मोटरेबल पुलको पिलर उठाउने काम थालिएको छ ।

१८ महिनाभित्र पूरा गर्नेगरी गजुरमुखी हरिहरि निर्माण सेवा जेभीले २०७३ साल वैशाखमा जिम्मा लिएको पुलको निर्माण सम्पन्न गर्ने म्याद नाघेको सात महिनापछि एकतर्फको पिलर उठाउने काम थालिएको हो ।

पुल निर्माणको काममा चरम ढिलासुस्ती गरेको भन्दै जिल्ला प्रशासन कार्यालयले कामचोर ठेकेदारको सूचीमा गजुरमुखी हरिहरि निर्माण सेवा जेभीको नाम पनि समावेश गरेर गृह मन्त्रालयमा पठाएको छ । पछिल्लो समय काम चोर निर्माण कम्पनीको गृह मन्त्रालयले संकलन गर्न थालेपछि ठेकेदारहरुले धमाधम काम सुरु गर्न थालेका हुन् ।

अलपत्र रहेको लामो समयपछि जेठ २ गते यता पुलको लफ्याङतर्फको पिलरको दुई लेयर ढलान गरिएको ठेकेदार कम्पनीका प्रतिनिधि विराज आचार्यले बताए । उनले भने, ‘पुलको एकातिरको पिलर उठाउने काम अन्तिम चरणमा पुगेको छ । अबको १५ दिनमा एकतर्फको पिलर उठाउने काम सकिन्छ । अर्काेतिरको पिलर उठाउने काम मौसमले साथ दिए असारको अन्तिम सात सक्ने लक्ष्य राखिएको छ ।’

पुल नहुँदा हरित सडक उपयोगविहीन

पुल नबन्दा २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक प्रयोगमा समस्या भएको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहुँच कार्यक्रमले ११ वर्ष लगाएर २०६९ साल असारमा पूरा गरेको ७४ किलोमिटर लामो दिक्तेल–खोटाङबजार हरित सडक साप्सु र तावा खोलामा पुल नहुँदा उपयोग बिहिन बनेको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै खोटेहाङ गाउँपालिका पुग्ने सडक जोड्ने सो पुल जिल्लाको गौरबको योजना हो । बाटोमा पर्ने साप्सु खोलामा पक्की पुल नहुँदा साकेला गाउँपालिकामा बैंक स्थापना गर्न कठिनाई भएको साकेला गाउँपालिका प्रमुख अर्जुन खड्काले बताए । गाउँपालिकामा एसबीआई बैंकको शाखा कार्यालय स्थापना गर्ने भनिए पनि पुल अभावमा शाखा कार्यालय स्थापनामा बैंक पछि हटेको गाउँपालिका प्रमुख खड्काको भनाइ छ ।