९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


खानेपानीको अभाव भएपछि बसाइँ सर्दै स्थानीय


0
Shares

-विराज रोस्यारा/ईमेज

कैलाली । कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा खानेपानीको अभाव भएपछि स्थानीय बसाइ सर्न थालेका छन् ।

अत्यधिक गर्मीका कारण पानीका मुहान धमाधम सुक्न थालेपछि गाउँ नै छाड्ने क्रम बढेको हो ।

गोदावरी नगरपालिका वडा नम्बर ११ र १२ मा खानेपानीको हाहाकार भएपछि स्थानीय समस्यामा परेका छन् ।

गाउँमा भएका डीप वोरिङ र कुवा सुकेपछि घन्टौँ हिँडेर खोलाको दुषित पानी पिउन बाध्य छन् ।

गाउँमा भएका खानेपानिका मुहान सुक्दै जाँदा घरका अन्य काम छाडेर पानीको जोहोमै लाग्नुपर्ने स्थानीयको गुनासो छ ।

केही दिनअघि आएको विनाशकारी हावाहुरीले विद्युत अवरुद्ध भएपछि केही स्थानमा रहेका डीप वोरिङ पनि बन्द छन् ।

गोदावरी नगरपालिका वडा नम्बर १० ले जेनेरेटर किनेर डीप वोरिङ चलाइरहेको छ ।

जहाँ पानी भर्न आउँनेहरुको लर्काे लाग्ने गरेको छ । स्वच्छ खानेपानी नहुँदा यस क्षेत्रमा विभिन्न रोगको संक्रमण समेत फैलने गरेको छ ।

सरोकारवाला निकायले चासो नदिँदा आफूहरु समस्यामा परेको उनीहरुको गुनासो छ ।

पानीकै अभावले यस क्षेत्रबाट १ सय ५० घरधुरी विस्थापित भइसकेका र यो क्रम जारी रहेको  स्थानीय रवीन्द्र शाही बताउँछन् ।

गोदावरीको चुरे फेदीका बस्तीमा वर्षौंदेखि खानेपानीको समस्या भइरहे पनि सरोकारवालाको  नजर पुग्न सकेको छैन ।