९ श्रावण २०८२, शुक्रबार | Fri Jul 25 2025


धादिङमा जिप दुर्घटना : मृतकको संख्या ५ पुग्यो (अपडेट)


0
Shares

धादिङ, असार ६ । धादिङको गल्छी गाउँपालिका वडा नं ६ माँझगाउँमा बोलेरो जिप दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ ।

गल्छी गाउँपालिका सिरुबारीबाट बैरेनीतर्फ जाँदै गरेको बा१८च ९४०८ नम्बरको जिप अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा गल्छी गाउँपालिका वडा नं ६ का २५ वर्षीय नानु तामाङ, सोही ठाउँका ३० वर्षीया कान्छी भुजेल, गल्छी गाउँपालिका वडा नं ४ का ३८ वर्षीय सेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेलको घटनास्थलमै मृत्यु भएको हो भने २१ वर्षीया सरिता प्याकुरेलको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० जना घाइते भएको प्रहरी चौकी बैरेनीका प्रहरी नायव निरीक्षक जनक बस्नेतले जानकारी दिए ।

घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि काठमाडौँ पठाइएको छ । तरकारी बोकेर बैरेनीतर्फ जाँदै गरेको जिप माथिल्लो सडकबाट पल्टेर तल्लो सडकमा झरेको स्थानीयले बताएका छन् ।