
वासिंटन, असार ६ । अमेरिकाले इरानमाथि हमलाको तयारी अन्तिम अवस्थामा पु¥याएर पनि आफ्नो योजना अचानक स्थगित गरेको तथ्य खुलासा भएको छ ।
अमेरिकी अखबार न्यूयोर्क टाइम्सका अनुसार इरानले अमेरिकी ड्रोन खसालेपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको थियो । सो अखबारका अनुसार बिहीबार साँझसम्म अमेरिकी सेना र कुटनीतिक अधिकारीहरु इरानमाथि जवाफी कारवाही हुनेमा ढुक्क थिए ।
अमेरिकी सेनाका उच्च अधिकारीलाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले जनाएअनुसार अमेरिकाका लडाकु विमानहरु तम्तयार अवस्थामा थिए । समुद्रमा युद्धपोतलाई पनि मोर्चामा तैनाथ गरिएको थियो ।
अन्तिम समयमा ‘आदेश परिवर्तन’ भएपछि जवाफी हमला स्थगित भएको सो अखबारले दावी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तिम समयमा आएर निर्णय परिवर्तन गरेको बताइएको छ ।
सो अखबारका अनुसार पूर्वयोजना अनुसार शुक्रबार बिहान इरानमाथि हमला गर्नुपर्ने थियो । हमला गर्ने समय तालिका परिवर्तन गरिएको हो या निर्णय नै स्थगित गरिएको हो भन्नेबारे प्रष्ट भइसकेको छैन । अमेरिकी रक्षा मन्त्रालयले यसबारे केही उल्लेख गरेको छैन ।
बिहीबार बिहान इरानले अमेरिकी ड्रोन खसालेको दावी गरेको थियो । आफ्नो क्षेत्रमा अनधिकृत रुपमा उडेको अमेरिकी ड्रोनलाई क्षेप्यास्त्र आक्रमण गरी खसालेको इरानको भनाइ थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्