
टेकराज अवस्थी
डडेल्धुरा, असार ६ । प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नै नगरी टेन्डर आह्वान गर्दा डडेल्धुरामा कतिपय विकासका आयोजना अवरुद्ध बनेका छन् । जुनसुकै आयोजना निर्माण गर्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने व्यवस्था भए पनि त्यसलाई बेवास्ता गरेर अगाडि बढ्दा दर्जनौं विकासका काममा अवरोध भएको हो ।
डडेल्धुराको सदरमुकामदेखि भागेश्वर गाउँपालिकाको वगरकोटसम्म ३२ केभी विद्युत प्रशारणका लागि ३ वर्ष पहिले नै पोल गाडिएको भए पनि रुख काट्न नसक्दा तार जोड्ने काम अहिलेसम्म हुन सकेको छैन ।
त्यसैगरी डडेल्धुरादेखि कञ्चनपुरसम्म पुग्ने सबैभन्दा छोटो डोटीघटाल चिरकीट्टे जोगवुढा, दैजी सडकको निर्माण कार्य पनि रोकिएको छ ।
पूर्वाधार विकास कार्यालय डडेल्धुराले टेन्डर आह्वान गरी सडक निर्माण गर्न थालेको भए पनि वातावरणीय प्रभाव मूल्यांकन नगरेकाले डिभिजन वन कार्यालयले सडक निर्माणमा रोक लगाएको हो ।
वातावरणीय प्रभाव मूल्यांकनको कानुनी व्यवस्थालाई लत्याउँदै टेन्डर आह्वान गर्दा विकासका ठूला पुर्बाधारहरु प्रभावित हुने गरेको निर्माण व्यवसायी नरबहादुर बिष्ट बताउँछन् ।
प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन नगर्दा विषेशगरी जंगल क्षेत्रमा समस्या देखिएको छ । प्रक्रिया झन्झटिलो हुने भन्दै टेन्डर आह्वान गर्न हतारिनुको परिणति वर्षौंसम्म विकासका काम अलपत्र परेका छन् ।
टेण्डर आह्वान गर्नुभन्दा पहिले वातावरणीय प्रभाव मूल्यांकन गर्ने काम नहुँदा विकास निर्माण काममा समस्या भइरहेका छन् भने कानुनलाई नटेर्दा डडेल्धुरामा मात्रै दर्जनौं विकासका काम प्रभावित भएका छन्, जसको नोक्सानी आमजनताले बेहोर्नुपरेको छ ।
प्रतिक्रिया दिनुहोस्