
बाग्लुङ, असार ६ । मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङका विभिन्न खण्ड कुरुप बनेका छन् ।
भीषण वर्षासँगै आएको भेलले कच्ची सडक भत्किएर राजमार्गमा ढुंगामाटो थुप्रिएका छन् । लोकमार्गको बाग्लुङ–बुर्तिबाङ खण्डको बडिगाडका अधिकांश क्षेत्र भत्किएका छन् ।
वर्षाको समयमा लोकमार्गसँग जोडिएका ग्रामीण क्षेत्रमा जथाभावी खनिएका सडकबाट भेल आउँदा लोकमार्ग बिग्रिएको बताइएको छ । कालोपत्रे गरेको एक वर्ष पुरा नहुँदै लोकमार्गका विभिन्न खण्ड बिग्रिदा सवारी चालक तथा यात्रुले सास्ती भोग्नुपरेको छ ।
बडिगाड गाउँपालिकाको राक्से, खाललगायत खर्बाङदेखि तुरतुरे तालसम्मका विभिन्न भागमा वर्षाको भेलले कालोपत्रे गरेको सडकमा क्षति पुगेको छ । सडक अस्तव्यस्त हुनुका साथै सडक छेउछाउका बस्तीसमेत जोखिममा परेका छन् ।
अव्यवस्थित ढंगले बस्ती–बस्तीमा मोटरबाटो जोड्दा सडक भत्किएर कुरुप बनेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए ।
जथाभावी खनिएका सडककै कारण पानीका मुहानसमेत सुकेर वातावरणीय सन्तुलनसमेत बिग्रँदै गएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्