
काठमाडौं, असार ५ । आउँदो साउन १ गतेदेखि भारतबाट पाइपबाट इन्धन ल्याइने भएको छ ।
नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएसँगै परीक्षण सफल भएपछि साउन १ देखि पाइपबाटै इन्धन ल्याउने तयारी भएको हो ।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले पाइपलाइनबाट सुरुमा डिजेल ल्याइने बताए ।
यो पाइपलाइन ‘मल्टीपर्पोज’खालको रहेको भन्दै सोहीबाट फरक–फरक समयमा डिजेल, मट्टितेल र पेट्रोल ल्याइने उनले बताए ।
पाइपलाइनबाट इन्धन ल्याउने काम सुरु भएपछि ढुवानी खर्च बच्ने भएकाले इन्धनको भाउ पनि घट्नेछ ।
घट्ने रकम यकिन नभएपनि लागत कम हुँदा सहुलियत पुग्ने प्रवक्ता गोइतले उल्लेख गरे ।
पाइपलाइन बिछ्याउने कामका लागि भारत सरकारले भारतीय दुई अर्ब रुपैयाँ खर्च गरेको छ भने भन्डार ट्यांकका लागि नेपालले ७५ करोड विनियोजन गरेको छ ।
पाइपबाट तेल आउन थालेपछि नेपालले ट्यांकको स्तरोन्नति गर्ने काम सुरु गर्ने निगमले जनाएको छ ।
पाइपबाट नेपालले आफ्नो आवश्यकताअनुसार इन्धन आयात गर्न पाउनेछ ।
नेपाल र भारतबीच भएको सहमतिअनुसार प्रत्येक पाँच/पाँच वर्षमा सम्झौता पुनरावलोकन हुने निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्