Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


पोखरामा राष्ट्रिय बिच भलिबल सुरु


0
Shares

पोखरा, असार ५ । पोखरामा बिहीबारदेखि पुरुष तथा महिला राष्ट्रिय बिच भलिबल प्रतियोगिता सुरु भएको छ ।

जिल्ला भलिबल संघ कास्कीको आयोजनामा भएको छैटौं महिला तथा सातौं राष्ट्रिय बिच भलिबल प्रतियोगिता यही असार ७ गतेसम्म फेवाताल किनारको बिच भलिबल कोर्टमा सन्चालन हुनेछ ।

उद्घाटन खेलमा सशस्त्र प्रहरीको महिला टोलीले प्रदेश नम्बर–५ लाई २१—१७ र २१—४ को सोझो सेटमा हरायो ।

त्यसैगरी, पुरुषतर्फ गन्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई २१—१२ र २१—१२ को सोझो सेटमा पराजित गर्‍यो ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेशका पुरुष र महिला गरी २० टिमको सहभागिता रहेको जनाइएको छ ।

प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले नगद ३०/३० हजार, उपविजेताले २०/२० हजार र तेस्रो हुने टिमले १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष दुवै खेलाडीले जनही तीन हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

बिहीबारै प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गरेका थिए ।

सोक्रममा बोल्दै दाहालले भलिबल राष्ट्रिय खेल भएपनि बजेटले उपेक्षा गरेको बताए ।

उनले भलिबल गाउँगाउँसम्म खेल्न सकिने भएकाले आफू प्रधानमन्त्री भएका बेला राष्ट्रिय खेलकारुपमा घोषणा गरेको बताए ।