१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


हुम्ला जिप दुर्घटनाः गोताखोरले खोज्दै, १० जनाको अवस्था अझै पत्ता लागेन


0
Shares

काठमाडौं, असार ५ । गएको मंगलबार हुम्लाको खार्पुनाथ गाउँपालिकास्थित कर्णाली नदीमा जिप खस्दा बेपत्ता भएकाहरुको अवस्थाबारे अझै केही पत्ता लाग्न सकेको छैन ।

चितवनको कुरिनटारबाट गएको सशस्त्र प्रहरीको गोताखोर टोलीले बिहीबार बिहानदेखि पुनः खोजी सुरु गरे पनि केही पत्ता लागेको छैन ।

गोताखोर टोलीले दुर्घटनास्थल आसपासको दुई किलोमिटर क्षेत्रमा बुधबार पनि दिनभर खोजी गरेको जनाइएको छ ।

खार्पुनाथ गाउँपालिका–५ बाट लु१ज ७१६६ नम्बरको जिप कर्णाली नदीमा खस्दा जिपमा सवार १० जना बेपत्ता भएका हुन् ।

नदीको पानी चिसो र बहाव बढी भएका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गर्न नसकेपछि १० जनाको गोताखोर टोली त्यसतर्फ पठाइएको हो ।

बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, चिपचालक सिमकोट–८ का मणी शाही, खार्पुनाथ–४ का चन्द्र हमाल, नैनसिंह भण्डारी, खार्पुनाथ–५ की वसन्ती शाही, १३ वर्षीय गोकुल सुनार, नन्ददेवी सिंह, खार्पुनाथ–१, पिउसकी कौर दमाइँ र नाम नखुलेका उनका दुईवर्षीय छोरा र काठमाडौं, थानकोटका राजु श्रेष्ठ रहेका जनाइएको छ ।

दुर्घटनामा परेको जिप पनि भेटिएको छैन ।