
काठमाडौं, असार ५ । प्रतिनिधिसभाअन्तर्गत्को शिक्षा तथा स्वास्थ्य समितिमा पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि औपचारिक छलफल सुरु भएको छ ।
बिहीबार समितिको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले पारमाणविक उत्पादनमा निजी क्षेत्रको प्रवेश रोक्नुपर्ने र अन्तर्राष्ट्रिय चलखेलप्रति सचेत बन्नुपर्ने बताए ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय सुरक्षाका लागि पारमाणविक तथा रेडियोधर्मी पदार्थको प्रयोग आवश्यक रहेको बताए ।
विश्वका अधिकांश देशले यससम्बन्धी कानुन बनाइसकेको बताउँदै उनले नेपालले पनि कानुन बनाउन ढिलो गर्न नहुने बताए ।
छलफलमा भाग लिँदै नेकपाका प्रमुख सचेतक देव गुरुङले पारमाणविक पदार्थ उत्पादनमा निजी क्षेत्रलाई रोक लगाउनुपर्ने बताए ।
सांसद खगराज अधिकारीले सरकारले नै यो क्षेत्रको उत्पादनसँग सम्बन्धित संरचनाहरुको सन्चालन गर्नुपर्नेमा जोड दिए ।
सांसद योगेश भट्टराईले विधेयकमा धेरै राम्रा पक्ष भएपनि सचेत भने हुनुपर्ने धारणा राखे ।
छलफलमा सहभागी अरु सांसदहरुले विधेयकमा आणविक भट्टी सन्चालन गर्नसक्ने व्यवस्था रहेको भन्दै यसलाई परिमार्जन गर्नुपर्ने धारणा राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्