Logo ७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026


गण्डकी प्रदेशको बजेट कार्यान्वयनमै चुनौती


0
Shares

प्रदीप पौडेल

पोखरा, असार ५ । कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता दिएर गण्डकी प्रदेश सरकारले बजेट ल्याएको छ । ६ अर्ब बढीको घाटा रहेको बजेटमा विकासका कार्यक्रम र रोजगारीका आधारहरु तयार हुने अपेक्षा गरिए पनि बजेट भने वितरणमुखी देखिएको छ ।

गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि बजेट ३२ अर्ब १३ करोड ४७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जुुन आकारका दृष्टिले सुदुरपश्चिम प्रदेशपछिको सानो बजेट हो ।

गत वर्ष सांसदलाई बजेट दिने कार्यक्रम नल्याएको सरकारले यसपटक भने त्यसलाई ल्याएरै छाड्यो । जसअन्तर्गत ३६ वटा निर्वाचन क्षेत्रलाई ७२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले प्रदेशभित्र कम्तीमा १० हजारलाई रोजगारी सिर्जना हुने गरी सीपमूलक तालिम सञ्चालनका लागि १७ करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै भौतिक पूर्वाधारमा जोड दिएर सबैभन्दा धेरै बजेट यस शीर्षकमा छुट्याइएको छ । ६ अर्ब रुपैयाँको घाटा बजेट प्रस्तुत गरेकोमा ४ अर्व ८० करोड रुपैयाँ चालू बर्षमा खर्च हुन नसकेको रकमलाई अख्तियारी सारेर लैजाने बाँकी ऋण लिने अर्थमन्त्री किरण गुरुङको भनाइ छ ।

अर्कोतिर बजेटमा कृषकले लिएको ऋणको ब्याज सरकारले तिरिदिन, सिँचाइ र खानेपानीलाई प्राथमिकतामा राख्ने लगायतका महत्वपूर्ण कार्यक्रम समेटिएको अर्थमन्त्री किरण गुरुङको भनाइ छ ।

सरकारले चालू आर्थिक वर्षको बजेट हालसम्म २६ प्रतिशत मात्र खर्च गरेकाले आगामी वर्षको बजेट कार्यान्वयनमा ठूलो चुनौती देखिन्छ । सरकारले नयाँ बजेटलाई महत्वाकांक्षी ठाने पनि प्रतिपक्षी कांग्रेसका सांसद कुमार खड्का भने बजेट अव्यवहारिक भएको टिप्पणी गर्छन् ।

पर्यटनमार्फत प्रदेशको आर्थिक समृद्धिको आधार तय गर्ने भनिए पनि बजेट पर्याप्त रुपमा विनियोजन गरिएको छैन । बजेट जस्तोसुकै भए पनि इमान्दारीताका साथ कार्यान्वयन गर्न सकेमात्र त्यसको सार्थकता रहन्छ । 

भिडियो हेर्नुहोस्