१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


तराईमा अचाक्ली गर्मी, अस्पतालमा बिरामीको संख्या बढ्यो


0
Shares

दीपक घिमिरे

भैरहवा, असार ५ । तराईमा अचाक्ली गर्मी बढेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ । तापक्रम ४० डिग्री सेल्सियसभन्दा बढी पुगेसँगै झाडापखाला, निमोनिया, रुघाखोकी लगायतका समस्या देखिन थालेको हो ।

मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले गत शनिबार भैरहवाको अधिकतम तापमान ४३ दशमलव ३ डिग्री मापन गरेको थियो । त्यसकै हारहारीमा अहिले यहाँको तापक्रम पुग्ने गरेको छ ।

अत्याधिक गर्मीले तातो हावा चलेका कारण घरबाहिर निस्कन सक्ने अवस्था देखिँदैन । गर्मीसँगै रुपन्देहीसहित तराईका अधिकांश शैक्षिक संस्थामा बिदा दिइएको छ । पछिल्लो चार बर्षयताकै उच्च गर्मी भएका कारण स्थानीयले निकै सास्ती खेप्नुपरेको छ ।

गर्मीका कारण पशुपंक्षी समेत छट्पटाउन थालेका छन् भने खेतीपाती पनि सुक्न थालेको छ । गर्मीका कारण चिसो पेयपदार्थको बिक्री अत्याधिक बढेको छ । गर्मीसँगै अस्पतालहरुमा बिरामीको संख्या पनि बढेको छ ।

प्रादेशिक अस्पताल बुटवलकाअनुसार गर्मीजन्य रोगका कारण दैनिक ६ सयदेखि ७ सयसम्म बिरामी उपचार गराउन अस्पताल आउँछन् । भीम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेण्ट वद्री बैदवारका अनुसार सामान्य अवस्थामा दैनिक हजार/पन्ध्र सयको हाराहारीमा आउने बिरामीको संख्या अहिले दुई हजार पाँचसय देखि ३ हजारसम्म पुगेको छ ।

झाडापखाला, छाला, निमोनिया, रुघाखोकी लगायतका बिरामी उपचारका लागि आउने गरेको अस्पतालहरुले जनाएका छन् । दिउँसोको समयमा घाममा नहिड्न र हिड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउन चिकित्सकले सुझाएका छन् । गर्मीका कारण मुख्य शहरी क्षेत्रमा पानीको अभाव देखिएको छ भने जंगलमा डडेलोको समस्या पनि उत्तिकै छ ।

भिडियो हेर्नुहोस्