
बेइजिङ, असार ५ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आजदेखि उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण गर्दैछन् ।
चिनियाँ राष्ट्रपतिबाट १४ वर्षपछि पहिलो पटक उत्तर कोरियाको भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा उनले उत्तर कोरियाली नेता किम जोङ उनसँग कोरियाली प्रायद्वीपले झेलिरहेको आर्थिक समस्या र उसको आणविक कार्यक्रमबारे छलफल गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीन र उत्तर कोरिया पुराना मित्र भए पनि पछिल्लो समय आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्रसंघले लगाएको आर्थिक प्रतिबन्धमा चीनले समर्थन जनाएपछि यी दुई देशको बीचमा केही चिसोपन आएको छ ।
राष्ट्रपति सीको भ्रमणले दुई देशबीचको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको छ । सन् २०१२ मा सत्ता सम्हालेका सीले छिमेकी राष्ट्र उत्तर कोरियाको भ्रमण गरेका थिएनन् ।
उत्तर कोरिया चीनको नजिकको व्यापारिक साझेदार हो । जापानमा हुन लागेको जी–२० शिखर सम्मेलनअघि सीको उत्तर कोरिया भ्रमणलाई महत्वसाथ हेरिएको छ । सीले सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गरिएको छ ।
किमले पछिल्ला दुई वर्षमा चारपटक चीनको भ्रमण गरे पनि चिनियाँ नेताको उत्तर कोरिया भ्रमण भएको थिएन । पछिल्लोपटक सन् २००५ मा तत्कालीन चिनियाँ राष्ट्रपति हु जिन्ताओले प्योङयाङको भ्रमण गरेका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्