२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


चीन–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा : चिनियाँ राष्ट्रपति


0
Shares

बेइजिङ, असार ४ । चिनियाँ राष्ट्रपति एवम् चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि चिनफिङले चीन र उत्तर कोरियाबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताएका छन् ।

उनले यी दुई देशबीचको सम्बन्धलाई थप नयाँ सम्बन्धका साथ अघि बढाउनका लागि आह्वान पनि गरेको जनाइएको छ । 

चिनियाँ राष्ट्रपति सि चिनफिङले यो सम्बन्धले दुई देश र यहाँका नागरिकलाई प्रत्यक्ष रुपमा लाभ पुग्नुका साथै विश्व तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका लागि पनि लाभ पुग्ने धारणा राखेका छन् ।

उत्तर कोरियाको सरकारी पत्रिका रोडोन सिनमुनमा बुधबार प्रकाशित भएको चिनियाँ राष्ट्रपति सि चिनफिङको लेखमा सो कुरा उल्लेख गरिएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । 

राष्ट्रपति सि चिनफिङको उत्तर कोरिया भ्रमणको अघिल्लो दिन प्रकाशित यस लेखमा उनको यो धारणा आएको हो । 

राष्ट्रपति सि चिनफिङले बिहीबार र शुक्रबार उत्तर कोरियाको भ्रमण गर्न लागेको जनाइएको छ ।     

उनको यो भ्रमण चीनका उच्चस्तरका नेता तथा राष्ट्रपतिका रुपमा गरिएको १४ वर्षपछिको पहिलो हुने पनि जनाइएको छ ।

यस वर्ष चीन र उत्तर कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठ मनाइँदैछ । सोही अवसर पारेर चिनियाँ राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् ।

सो लेखमा राष्ट्रपति चिनफिङले कोरियाली वर्कस् पार्टीका अध्यक्ष किम जोङ उनको निमन्त्रणामा आफूले उत्तर कोरियाको राजकीय भ्रमण गर्न लागेको र यस भ्रमणले चीन र उत्तर कोरियाबीचको सम्बन्धलाई थप उचाईमा पुर्‍याउने धारणा राखेका छन् ।

उत्तर कोरियाली र चिनियाँ सञ्चारमाध्यमहरुले चिनियाँ राष्ट्रपति चिनफिङको यो राजकीय भ्रमणको समाचारको निकै महत्वका साथ प्रचार प्रसार गरेका छन् । (रासस÷सिन्ह्वा)