नवीन सिंह
जनकपुर, असार ३ । प्रदेश २ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटप्रति सत्तारुढ दलकै सांसदले असन्तुष्टि जनाएका छन् ।
सरकारले यथार्थ धरातल बिर्सेर महत्वाकांक्षी बजेट ल्याएको आरोप प्रतिपक्षले लगाइरहेका बेला सत्तापक्षका सांसदहरुले पनि जनताका आवश्यकता र आकांक्षाअनुसार बजेट नआएको प्रतिक्रिया दिएका छन् ।
आगामी आर्थिक वर्षका लागि झन्डै ३९ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको प्रदेश २ सरकारले कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजना, मुख्यमन्त्री कृषि उत्थानका साथै प्रत्येक जिल्लामा नमुना अस्पताल निर्माण लगायतका महत्वपूर्ण योजना बजेटमा समेटिएका छन् ।
चुरे जोगाऊँ, मधेश बचाऊँ अभियान, जनतासँग मुख्यमन्त्री कार्यक्रम ‘बेटी बचाऊ बेटी पढाऔ जस्ता’ अभियानलाई धेरैले सकारात्मक भनेका छन् । बजेटमा प्रत्येक निर्वाचन विकासका लागि दुई करोड रुपैयाँ र निर्वाचित एवं समानुपातिक प्रदेशसभा सदस्य विकास कार्यक्रमका लागि एक करोड रुपैयाँ रकम विनियोजन गरिने उल्लेख छ ।
संघीय सरकारको बजेटमा सर्वाधिक आलोचना भएको निर्वाचन क्षेत्र विकासको नाममा सांसदलाई ६ करोड रुपैयाँ दिने विषयलाई प्रदेश २ ले पनि अनुकरण गरेपछि यसको तीव्र आलोचना भइरहेको छ । सत्तारुढ दल राजपाका प्रमुख सचेतक परमेश्वर साह जनताको इच्छा र अपेक्षा अनुसार बजेट नभए पनि कृषि, पर्यटन र उद्योग विकासलाई प्राथमिकतामा राखेको प्रतिक्रिया दिन्छन् ।
उता, प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बजेट यथार्थपरक नभई महत्वाकांक्षी भएको साथै आवश्यकता र प्राथमिकताअनुसार नल्याइएको दाबी गर्छन् ।
अर्थ विश्लेषक प्रा. डा.सुरेन्द्र लाभ बजेटमा पञ्चायतकालीन झल्को देखिएको प्रतिक्रिया दिन्छन् । कृषि, र शिक्षालाई प्राथमिकतामा राखिएको देखिए पनि विकास, समृद्धि र समावेशीकरणलाई बेवास्ता गरिएको उनको प्रतिक्रिया छ ।
प्रदेश सरकारले विगतका तुलनामा यसपटक राम्रो बजेट आएको दाबी गरे पनि कार्यान्वयनको तहमा नपुगुन्जेल उत्साहित भइहाल्नुपर्ने अवस्था देखिँदैन ।








प्रतिक्रिया दिनुहोस्