९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


पूँजीगत लाभकरको विषयमा अझै निर्णय भएन, लगानीकर्ता अन्योलमा


0
Shares

काठमाडौं, असार ३१ । सरकारले शेयरमा पूँजीगत लाभकरको विषयमा अझै निर्णय गर्न नसक्दा लगानीकर्ता अन्योलमा परेका छन् ।

सरकारले बजेटमार्फत पूँजीगत लाभकर बढाउनुका साथै हकप्रद र बोनस शेयरको आधारमूल्यमा नै कर लगाउने व्यवस्था गरेको थियो । यसबाट शेयर लगानीकर्ता आन्दोलित भएपछि चालु आर्थिक बर्षभरी पुरानै व्यवस्था अनुसार पूँजीगत लाभकर गणना गर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा सुझाव समिति गठन गरेको थियो ।

समितिको प्रतिवेदनपछि त्यसैअनुसार अगाडि बढ्ने सरकारले जनाएको थियो । समितिले प्रतिवेदन बुझाइसकेको छ । तर पनि असार मसान्त भइसक्दा समेत सरकारले यसबारे स्पष्ट नपार्दा लगानीकर्ता अन्योलमा परेको बताउँछन् ।

पोर्टफोलियो व्यवस्थापन विज्ञ एवं लगानीकर्ता प्राध्यापक डा.मनोहरकृष्ण श्रेष्ठ धेरै अपेक्षा गरिएको सरकारबाट लगानीकर्ताले सकारात्मक दृष्टिकोणसमेत पाउन नसकेको गुनासो गरे ।

साना लगानीकर्ताप्रति सरकारको दृष्टिकोण झन राम्रो नदेखिएको उनको भनाइ छ ।

सरकारले लगानीकर्तालाई सहजीकरण गरिदिनुपर्नेमा त्यसो गर्न नसक्दा उल्टो राजश्वसमेत उल्लेख्य दरले गुमाएको श्रेष्ठ बताउँछन् । सरकारले बजारप्रति नकारात्मक हस्तक्षेपमात्र गरेको उनको बुझाइ छ ।

नियामक निकायहरुको कमजोरीले झुठा सूचनामार्फत लगानीकर्ताहरु ठगिरहेको पनि उनको आरोप छ ।