खेल सामग्री खरिदका विषयमा छानबिन गर्न गठित समितिद्वारा काम सुरु • Image Khabar Image Khabar


खेल सामग्री खरिदका विषयमा छानबिन गर्न गठित समितिद्वारा काम सुरु


Imagekhabar
५ भाद्र २०७७, शुक्रबार १७:०७

खेल सामग्री खरिदका विषयमा छानबिन गर्न गठित समितिद्वारा काम सुरु

काठमाडौं, भदौ ५ । १३औं ‘साग’मा खेल सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गठन गरेको समितिले काम थालेको छ ।

समिति संयोजक गोविन्दबहादुर भट्टराईले प्रमाणसहित थप उजुरी आए छानबिनको दायरा बढाउने बताउनुभएको छ ।

राखेपले साग खेलकुदका क्रममा ब्याडमिन्टन खेलका सामग्री खरिदमा अनियमितता भएको भन्दै खेलाडी र खेलसम्बद्ध अधिकारीले उजुरी गरेपछि छानबिन समिति गठन गरेको हो ।

संयोजक भट्टराईले खेलकुद सामग्रीको गुणस्तर चित्तबुझ्दो नभएको, कोटेसनअनुसारको स्टोर दाखिला नभएको, स्टोर दाखिला भएका सामग्री खेलाडीहरुले प्राप्त नगरेकोलगायतका विषयमा छानबिन हुने बताउनुभयो ।

अहिले ब्याडमिन्टनका खेल सामग्रीमा भएको अनियमितताका विषयमा निवेदन प्राप्त भएकाले सोही विषयमा छानबिन गरिने उहाँले बताउनुभयो ।

अरु क्षेत्रबाट पनि खेलाडी प्रशिक्षकहरुले प्रमाणसहित उजुरी गरेको खन्डमा राखेप र मन्त्रलायले छानबिन गर्ने भट्टराईले बताउनुभयो ।

समितिले २१ दिनभित्र प्रतिवेदन राखेपलाई बुझाउनेछ ।

नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उहाँले राजीनामा बुझाइसक्नुभएको छ । सागमा खेलाडीको सामग्री खरिदमा आर्थिक अनियमितता गरेको आरोप लागेपछि उहाँले राजीनामा बुझाउनुभएको हो ।

यसअघि, ब्याडमिन्टन खेलाडीहरुले आफ्नो नाममा आएको खेल सामग्री अझैसम्म नपाएको भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी निवदेन दर्ता गराएका थिए ।

सागमा नेपालको तर्फबाट राष्ट्रिय ब्याडमिन्टन टोलीमा १० महिला र १० पुरुष खेलाडीको सहभागिता रहेको थियो । जसमा नेपालले पाँच कास्यपदक जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्