काठमाडौं, असार २ । इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजले बंगलादेशलाई जितका लागि ३२२ रनको चुनौती दिएको छ ।
सोमबार टाउनटनस्थित काउन्टी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा ३२१ रन बनायो ।
ओपनिङ ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले रनको खाता खोल्न नसके पनि साई होपको आकर्षक ९६ रनको प्रदर्शनले वेस्ट इन्डिजले उच्च योगफल बनाएको हो ।
एभिन लेविसले ७०, शिम्रन हेट्मायरले २६ बलमा ५०, कप्तान जासन होल्डरले १५ बलमा ३३ रनको योगदान दिए ।
बंगलादेशका मोहम्मद साइफुदिन र मुस्तफिजुर रहमानले समान ३/३ विकेट लिए । सकिब अल हसनले २ विकेट झारे ।
दुवै टिम जितको खोजीमा छन् । यो खेल हार्ने टिमलाई सेमिफाइनलको यात्रा मुस्किल हुनेछ ।
दुवै टिमले चार खेलबाट ३ अंक बटुलेका छन् । दुई टिमबीचको पछिल्लो पाँच भेटमा बंगलादेश बलियो देखिएको छ । बंगलादेशले चार खेलमा जित निकाल्दा वेस्ट इन्डिज एक खेलमामात्र विजयी भएको थियो ।








प्रतिक्रिया दिनुहोस्