काठमाडौं, असार २ । एएफसी कप फुटबल प्रतियोगिताअन्तर्गत् पाँचौं खेल खेल्न नेपाली लिग च्याम्पियन मनाङ–मर्स्याङ्दी क्लब सोमबार बंगलादेशको ढाका प्रस्थान गरेको छ ।
यही असार ४ गते बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेलमा नेपाली लिग च्याम्पियन मनाङले बंगलादेशको लिग च्याम्पियन अबहानी लिमिटेडसँग जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछ ।
यसअघि, गत अप्रिलमा नेपालमा नै भएको खेलमा मनाङ अबहानीसँग १–० गोलअन्तरले पराजित भएको थियो ।
घरेलु मैदानमा पराजित भएको लिग च्याम्पियन मनाङलाई उसैको मैदानमा हराउने सुनौलो अवसरसमेत हुनेछ ।
समूह ‘ई’मा रहेको मनाङले यसअघि खेलेको चार खेलमा दुईमा बराबरी तथा दुई खेलमा पराजित भएको थियो ।
२ अंक जोडेको नेपाल अंकतालिकाको अन्तिम स्थानमा छ ।
यता, अबहानी भने चार खेलबाट ७ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । समान ७ अंक नै जोडेको भारतको चेन्नायिन गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । त्यस्तै, मिर्नेर्भा पन्जाब ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । रासस








प्रतिक्रिया दिनुहोस्