बिराज रोस्यारा (इमेज)
कैलाली, असार २ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटको प्रतिपक्ष दलहरुले चर्को आलोचना गरेका छन् ।
सरकारले वितरणमुखी बजेट ल्याएको भन्दै प्रतिपक्ष दलले आलोचना गरेका हुन् ।
तर, सत्तापक्षीय सांसदहरुले भने बजेटले प्रदेशको विकासमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
चालूतर्फ १२ अर्ब ५७ करोड २६ लाख ३४ हजार तथा पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार विनियोजन गरिएको छ ।
बजेटमा थुप्रै लोकप्रिय कार्यक्रम समेटिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बजेटले उच्च आर्थिक वृद्धिदर हासिल गर्ने, स्वरोजगार बढाउने, औद्योगिक विकासलगायतलाई प्राथमिकता दिइएको बताए ।
कृषिमा आत्मनिर्भरता, आधुनिकीकरण तथा व्यावसायीकरण, उत्पादन र उत्पादकत्वको अभिवृद्धि, रोजगारीका अवसर सिर्जना गर्दै लगानीमैत्री वातावरण र सुशासन प्रत्याभूति हुनेगरी बजेट विनियोजन गरिएको उनको भनाइ छ ।
तर, प्रतिपक्ष दल नेपाली कांग्रेसले भने पुरानै कार्यक्रमलाई निरन्तरता दिएर ल्याइएको बजेट उत्साहजनक नभएको टिप्पणी गरेको छ ।
कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले सरकारले आफ्ना कार्यकर्तालाई ध्यानमा दिएर वितरणमुखी बजेट ल्याएको आरोप लगाए ।
उनले सुदूरपश्चिमका जनताले अपेक्षा गरेअनुसारको बजेट नआएको र यो बजेटले द्रुतगतिको विकासको चाहनालाई पर धकेलिदिएको बताए ।
सत्तापक्षका सांसदले भने बजेटले सुदूरपश्चिमको विकास निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरेका छन् ।
कृषि, जडीबुटी, जलस्रोत र पर्यटनको उचित व्यवस्थापन र परिचालन गर्नेगरी बजेट ल्याइएको उनीहरुको भनाइ छ ।
बजेटप्रति सर्वसाधारणले भने मिश्रित प्रतिक्रिया दिएका छन् ।
बजेटमा विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको छ ।








प्रतिक्रिया दिनुहोस्