वीरेन्द्रनगर, असार २ । कर्णाली सरकारले छोरी जन्मिए बैंक खाता खोली एक हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत् छोरीको शिक्षा र लालनपालनका लागि २० वर्षसम्म प्रत्येक महिना रु ५०० का दरले रकम जम्मा गरिदिने कार्यक्रम ल्याएको हो ।
आइतबार सार्वजनिक बजेटमा छोरीको सुरक्षाका लागि रु सात करोड विनियोजन गरिएको छ ।
‘छोरीको लालनपालन र शिक्षादीक्षाका लागि छोरी जन्मेको अवसरमा बैंकमा खाता खोली एक हजार रुपैयाँ जम्मा गर्ने र प्रत्येक महिना रु ५०० का दरले विवाहयोग्य उमेर २० वर्षसम्म जम्मा गरिनेछ’–बजेट प्रस्तुत् गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले भने–‘छोरीको सुरक्षा जीवनभरिको कार्यक्रमको घोषणा गरेको छु । यस कार्यका लागि रु ७ करोड बजेट छुट्याएको छु ।’
यसका साथै शिक्षा, स्वास्थ्य, पर्यटनलगायतमा क्षेत्रमा पनि प्राथमिकताका साथ बजेट छुट्याइएको छ ।
महिला स्वास्थ्य स्वयंसेविकाको कामको कदर गर्दै प्रोत्साहनस्वरुप वार्षिक १० हजार रुपैयाँ उपलब्ध गराउने बजेट वक्तव्यमा उल्लेख छ ।
स्वास्थ्य संस्थामा आइ बच्चा जन्माउने आमालाई पोषणवापत दुई हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।
प्रदेश सरकारले छाउपडी प्रथा, बालविवाह, अनमेल विवाह, घरेलु हिंसाजस्ता सामाजिक विकृति अन्त्य गर्दै छोरीलाई गर्भदेखि नै समानरुपले हुर्काउन र पढाउन छोरीबुहारी मूलप्रवाहीकरण कार्यक्रम सन्चालन गर्ने भएको छ ।
त्यसैगरी, राउटे, बादीलगायतका लोपोन्मुख तथा अल्पसंख्यक सिमान्तकृत वर्ग/समुदायको संरक्षणका लागि आयमूलक कार्यक्रमको व्यवस्था गरिने मन्त्री ज्वालाले बताए ।
आव २०७६/७७ का लागि कर्णाली प्रदेश सरकारले ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार रुपैयाँको बजेट ल्याएको छ ।
कुल विनियोजनमध्ये चालूतर्फ रु १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार र पुँजीगततर्फ रु २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार छुट्याइएको छ । रासस








प्रतिक्रिया दिनुहोस्