ध्रुव भट्टराई (इमेज)
विराटनगर, असार २ । कृषि, पर्यटन र पूर्वाधार विकासलाई मुख्य प्राथमिकता दिँदै प्रदेश नम्बर–१ सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ ।
बजेटलाई सत्तापक्षले दूरगामी भएको दाबी गरे पनि प्रतिपक्षले भने सस्तो लोकप्रियताका लागि उद्देश्यहीन भएको प्रतिक्रिया दिएका छन् ।
प्रदेश–१ सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको हो ।
बजेटमा कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । बजेटले समग्र क्षेत्रलाई छोएको देखिन्छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्म्बोले प्रस्तुत् गरेको बजेटमा अघिल्लो वर्ष सुरु गरेर पूरा हुन नसकेका योजनालाईसमेत समेटिएको छ ।
सरकारले सार्वजनिक गरेको बजेटलाई व्यवसायीले उत्साहित भने पनि विपक्षी दल भने असन्तुष्ट देखिएका छन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलका मुख्य सचेतक केदार कार्कीले मुख्यमन्त्रीका नाम जोडेर धेरै कार्यक्रम राखिएकाले सस्तो लोकप्रियता आर्जन गर्न खोजिएको टिप्पणी गरे ।
उनले बजेटलाई उद्देश्यहीनको संज्ञा दिए ।
उद्योगी–व्यवसायी भने प्रदेश सरकारको बजेटपछि उत्साहित देखिएका छन् । कार्यान्वयन गर्नसके ठूलो उपलब्धि हासिल गर्नसकिने उनीहरुको ठम्याइ छ ।
बजेटमा प्रदेशसभाका ९३ जना सदस्यलाई ५० लाखसम्म खर्च गर्नसक्ने गरी योजना दिने र प्रत्यक्षतर्फबाट निर्वाचित सांसदलाई दुई करोड ५० लाख रुपैयाँको प्रदेशसभा निर्वाचन क्षेत्र विकास कार्यक्रम पनि समावेश गरिएको छ ।
सरकारले महत्वाकांक्षी र ठूलो आकारको बजेट ल्याएपनि कार्यान्वयनमा भने आशंका छ ।
चालू आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारले पुँजीगत बजेटको २९.४० प्रतिशतमात्र खर्च गर्नसकेको छ ।








प्रतिक्रिया दिनुहोस्