प्रहरीले बैंकका कर्मचारीलाई पनि कार्यालय जान रोकेपछि बैंकहरुले सेवा नदिने • Image Khabar Image Khabar


प्रहरीले बैंकका कर्मचारीलाई पनि कार्यालय जान रोकेपछि बैंकहरुले सेवा नदिने


Imagekhabar
४ भाद्र २०७७, बिहीबार ११:४८

प्रहरीले बैंकका कर्मचारीलाई पनि कार्यालय जान रोकेपछि बैंकहरुले सेवा नदिने

काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञाका कारण अतिआवश्यक सेवा तथा क्षेत्रहरु पनि प्रभावित भएका छन् ।

निषेधाज्ञामा बैंकका कर्मचारीलाई पनि रोकिएपछि बैंकहरुले आज(बिहीबार) सेवा नदिने भएका छन् ।

निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको हो ।

संघका अध्यक्ष भुवन दाहालले प्रहरीले कर्मचारीलाई दुःख दिएर सेवा दिन नसक्ने स्थिति आएको बताउनुभयो ।

त्यसैले संघले आज बैंकका शाखा नखोल्ने निर्णय गरेको दाहालले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पालना गराउन सडकमा खटिएका प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारी लगायत कतिपय प्रमुख कार्यकारी अधिकृतलाई समेत बाटोमै रोकिएको गुनासो समेत बैकरहरुको छ ।

यसअघि हिजो मात्र संघले सीडीओसँग समन्वय गरी हरेक बैंकका काठमाडौंमा पाँच वटा, भक्तपुरमा १ वटा र ललितपुरमा २ वटा गरी आठ वटा शाखा खोल्ने सहमति गरेको थियो ।

बैंकका कर्मचारीलाई बैंककै परिचयपत्र देखाएर आउजाउ गर्न दिने भनिएकोमा आज भने बैंक खोल्न जान लागेकाहरुलाई पनि रोकिएको अध्यक्ष दाहालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्