बिराज रोस्यारा (इमेज)
कैलाली, असार १ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि २८ अर्ब १६ करोड रुपैयाँको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले प्रदेशसभाको आइतबारको बैठकमा २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत् गरेका हुन् ।
जसमा चालू खर्चतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ४६ लाख रुपैयाँ बजेट विजियोजन गरिएको छ ।
प्रदेश सरकारले कृषि, सडक, खानेपानी, सिँचाइ, उर्जा, तटबन्धलगायत पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
मुख्यमन्त्री एकीकृत कृषि कार्यक्रमअन्तर्गत् ‘नमुना कृषि गाउँ आफैं बनाऔं’ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई ५० लाखका दरले ४४ करोड बजेट विनियोजन गरिएको छ ।
कृषियोग्य भूमिमा सिँचाइ सुविधा विस्तारका लागि एक अर्ब १६ करोड, ९ जिल्लामा नमुना लिफ्ट सिँचाइ प्रणालीका लागि १० करोड, कन्चनपुरमा भैसीफार्म स्थापना गर्न चार करोड, ८० हेक्टर क्षेत्रफलमा केराखेतीका लागि दुई करोड अनुदान, मेसिन उपकरण अनुदानमा ५ करोड, चिस्यान केन्द्र निर्माणका लागि तीन करोड बजेट विनियोजन गरिएको छ ।
एक स्थानीय तह एक औद्योगिक उत्पादनका लागि तीन करोड र प्रदेशमा खाद्य डिपो स्थापना, घरेलु उद्योग स्थापनाका लागि ७ करोड बजेट विनियोजन भएको छ ।
मुख्यमन्त्री एकीकृत बस्ती विस्तार कार्यक्रमका लागि चार करोड, खप्तडमा पर्यटकीय होमस्टे निर्माणको योजना पनि बजेटमा अटाएको छ ।
गोदावरीमा स्थायी राजधानी स्थापना गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।
प्रदेश सरकारले ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषका लागि पनि बजेट छुट्याएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा तीन करोडका दरले ९६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।








प्रतिक्रिया दिनुहोस्