कांग्रेस महाधिवेशनः देउवाको शान्त तलाउमा निधिले फ्याँकेको ढुंगा र युवा नेताको चुनौतीले नेतापुत्रमा थपेको तनाव • Image Khabar Image Khabar


कांग्रेस महाधिवेशनः देउवाको शान्त तलाउमा निधिले फ्याँकेको ढुंगा र युवा नेताको चुनौतीले नेतापुत्रमा थपेको तनाव


Imagekhabar
२ भाद्र २०७७, मंगलवार १५:०५

politics

राजन कुईंकेल

नेपाली कांग्रेस १४ औं महाधिवेशनको मुखमा छ । हुनत कांग्रेसको विधानअनुसार यो बेला १४ औं महाधिवेशन सकिएर नयाँ नेतृत्व आइसक्नुपर्ने हो । तर एक पटक नेतृत्वमा पुगेपछि काम पनि देखाउन नसक्ने र पद पनि नछाड्ने पदलोलुप प्रवृत्ति नेपालका राजनीतिक दलहरुको पुस्तैनी रोग नै हो । कांग्रेसका नेताहरु यस अर्थमा किन फरक हुनु र ? देउवाले पनि त्यही गर्दैछन्, जे उनका अग्रजहरुले गरे । पदमा नपुगुञ्जेल जे जे कमजोरी अर्काको देखायो, पदमा पुगेपछि आफू पनि त्यही त्यही गर्नु कांग्रेसभित्र विरासत नै हो ।

विधानतः कांग्रेस कार्यसमितिहरुको पदावधि चार वर्षको हो । तर काबु बाहिरको परिस्थिति सृजना भएमा अर्को एक वर्षसम्म म्याद बढाउन पाउने व्यवस्था विधानमा छ । कांग्रेस नेतृत्व त्यही विधानको व्यवस्थालाई देखाएर पटक पटक आफ्नो म्याद थप्न अभिसप्त छ । पार्टीको साख जनस्तरमा धूजा धूजा हुँदा पनि नेतृत्वमा रहेका नेताहरु निर्लिप्त भएर पदमा टाँसिन अनेकन उपायको खोजी गरिरहेका छन् ।

२०७२ फाल्गुण २०–२३ सम्म काठमाडौंमा तेह्रौं महाधिवेशन गरेको कांग्रेसको केन्द्रीय समितिदेखि मातहतका सबै निकायको म्याद पार्टीको विधान अनुसार २०७६ फाल्गुण १९ गते नै सकिएको हो । तर ‘नदिने बुहारी बुधबार बार्छिन्’ भनेझै अनेकन बहाना गर्दै कांग्रेस नेतृत्वले २०७७ फागुन १९ गतेसम्मका लागि आफ्नो म्याद आफैले थप्यो । अब कोरोनालाई देखाएर अर्को ६ महिना थप्ने चाल रच्दैछ । आगामी फागुनमा पाँच वर्ष सकाउने देउवा कार्यसमितिले संविधानको संकटकालिन प्रबन्धलाई टेकेर अर्को ६ महिना पनि थप्न खोजेको हो ।

जब जब महाधिवेशनको तिथि नजिकिँदै छ, कांग्रेसमा मुलत नेतृत्वका लागि होड पनि बढ्न थालेको छ । नेतृत्वका लागि पाँच वर्षअघि तात्कालीन संस्थापन पक्षलाई फुटाएर पाँच वर्ष शासन गरेका देउवा फेरि सभापतिमै टिकिरहन लालायित छन् भने उनैसँग पराजीत रामचन्द्र पौडेलले पनि आफ्नो आकांक्षा छाडेका छैनन् । देउवाको पार्टी–सत्ता र पौडेल पार्टी–विपक्षी रहेको यस अवधिमा नेपाली कांग्रेस इतिहासमै सबैभन्दा कमजोर र अस्तित्व संकटबाट गुज्रियो ।

आफ्नै नेतृत्वमा गराइएको निर्वाचनमा संघ, प्रदेश र स्थानीय तहमा कांग्रेस नराम्ररी पछारियो । अधिकांश स्थानमा प्रतिपक्षीको हैसियतसम्म पनि नपाउने अवस्थामा पार्टी पुग्यो । पत्तासाफ हुने गरी जनताबाट बढारिँदा पनि कांग्रेसको नेतृत्वले पराजयको जिम्मेवारी लिन चाहेन । बरु एकले अर्कालाई दोषारोपण गरेर आफू पानीमाथिको ओभानो बन्ने कोशिसमा लागिरहे । पार्टीभित्रको कलह चरम बन्यो । राष्ट्रिय मुद्दाहरुमा नेतृत्व गर्न नसकेको मात्र होइन, करिब दुई तिहाई नजिकको सत्ताले गरेको ज्यादती र बेथितीमा देखिने र सुन्ने हैसियतसम्म देखाउन सकेन ।

कम्युनिष्ट नारा, राष्ट्रवाद र देउवा सत्ताको तत्कालीन निकम्मापनलाई देखाएर मत बटुलेको ओली–दाहाल चरम अवसरवाद गठबन्धनले संसदमा झण्डै दुई तिहाई सांसदको संख्या बटुल्न सफल भयो । करिब तीन वर्षदेखि सत्ताको केन्द्र भागमा रहेको नेकपा, ओली सत्ताले गरेका अनेकन सर्वसत्तावादी, भ्रष्ट र राज्य ढुकुटीमा मच्चाइरहेको चरम लूटका बारेमा देउवा नेतृत्वको कांग्रेसले प्रभावकारी भूमिका नै निर्वाह गर्न सकेन । यस्तो कांग्रेसको भविष्यप्रति चिन्तित पार्टीभित्रैका केही युवा, नेतृत्वमाथि चुनौती दिन जुर्मुराएका छन् ।

खासगरी गगन–विश्वप्रकाश–धनराजहरुको पुस्ताले दिएको नेतृत्व हस्तान्तरणको दबाबलाई देउवा–पौडेल पुस्ताले कानमा बतास नलगाइरहेका बेला यसको असर त्योभन्दा तल्लो पुस्तामा भने देखिन थालेको छ । त्यसैको प्रभावका रुपमा अहिलेसम्म देउवालाई नै नेता मानेर बसिरहेका उक्त पक्षका प्रभावी नेता विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । र उनले यसको औपचारिक जानकारी आफ्ना नेता देउवालाई गराई पनि सकेका छन् । उनले आफ्नो चाह देउवालाई मात्र भनेका छैनन्, अर्का नेता पौडेललाई पनि भेटेर सहयोग गर्न आग्रह गरिसकेका छन् ।

सँगै निधिले अबको कांग्रेस विभाजित नेतृत्वबाट चल्न नसक्ने भन्दै सर्वसम्मत नेतृत्व चयनमा सघाउन देउवा र पौडेलसँग आग्रह गरेका छन् । उनले आफ्ना समकालीन र नेतृत्वका लागि चाहना व्यक्त गरिरहेका प्रकाशमान सिंह, शशांक कोइरालालगायतलाई पनि आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन र आफूलाई सघाउन आग्रह गरेका छन् ।

देउवाले यस पटक सभापतिमा दोहोर्‍याउने इच्छा भएकाले आफैलाई सघाउन गरेको आग्रहमा निधिले यस पटक नेतृत्वमा नआए अर्को पटक गगन–विश्वप्रकाशको पुस्ता नेतृत्वमा आउने र उनीहरुलाई छेक्न नसकिने वस्तुस्थितिको जानकारी पनि गराइदिएका छन् । यसबाट निधिले उदाउँदो पुस्तामा स्वाभाविक नेतृत्व हस्तान्तरणको विषयलाई पनि बहसमा ल्याइदिएका छन् । नेतृत्वमा आफ्नो चाहना व्यक्त गर्दै निधिले एकै पटक विभिन्न दिशामा तीर फ्याक्न सफल भएका छन् ।

पहिलो, देउवा–पौडेल पुस्तालाई अब नेतृत्वबाट अवकाश लिनका लागि भद्र सल्लाह दिएका छन् । र अभिवाकीय भूमिकामा रहन आग्रह गरेका छन् । दोस्रो, आफ्ना समकालीन नेतृत्वको दावेदारलाई भेटेर सर्वसम्मत नेतृत्व चयनको वातावरण बनाउन र आफूलाई सघाउन अपील गरेका छन् । जबकी अरु नेताहरुले आफ्नो चाहना व्यक्त गर्नुअघि सम्भाव्य दावेदारहरुसँग यस्तो पहलकदमी लिएका थिएनन् । तेस्रो, पार्टीमा स्वाभाविक नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको विषयलाई यस पटक आफूले मौका नपाए १५ औं महाधिवेशनमा त गगन–विश्वप्रकाशको पुस्ता आउने उद्घोष गरेर त्यो पुस्ताको मन जित्ने प्रयास पनि गरेका छन् ।

हुनत, निधिलाई देउवाको वफादार सहयोगिका रुपमा हेर्ने गरिन्छ, उनले पेश गरेको नेतृत्वको दावेदारीमा अन्तिम क्षणसम्म टिक्न सक्छन् कि सक्दैनन्, त्यो त आउने दिनहरुले देखाउला । देउवा आफै उभिने निर्णयमा पुगे र सघाएनन् भने देउवामै समर्पित होलान् वा विद्रोह गरेरै भएपनि अहिले आफैले बोध गरेको धरातलीय यथार्थलाई स्वीकारेर मैदानमा टिकिरहलान् ? त्यसबाट उनको नेतृत्व क्षमताको पनि परख गर्न सकिन्छ । जेहोस्, निधिको ऐलान्ले सबैभन्दा बढी ठेस देउवाको आकांक्षामा लाग्ने त छ नै, त्योभन्दा बढीचाहिँ बुढानीलकण्ठ दरबारलाई परिक्रमा गरेर लाभ लिने र पार्टीमा पटक्कै सुधार हुन नदिने बिचौलिया वर्ग यसबाट मर्माहत हुनेछ ।

निधिले सभापतिमा आकांक्षा व्यक्त गर्ने बित्तिकै त्यही शिविरका गोपालमान श्रेष्ठले पनि आफू श्रेष्ठतम् भएकाले नेतृत्वमा दाबेदारी रहने बताएका छन् । यसबाट के पनि देखिँदैछ भने निधिको नेतृत्व दावेदारीले त्यही शिविरभित्र बोली अड्काएर बसेकाहरुको पनि बोली फुट्न थालेको छ । निधिको यस घोषणाले अर्को शिविरमा रहेकाहरुमा भने त्रास र आश दुबै देखिन्छ । निधिको चाहनासँगै पार्टीमा नेतापुत्रहरुको नेतृत्व आकांक्षा एकै पटक मुखर भएर आएको छ ।

यसअघि नै गणेशमान सिंहपुत्र प्रकाशमान सिंह, वीपीपुत्र शशांक कोइरालाले आफूहरु आउँदो महाधिवेशनमा नेतृत्वमा प्रतिष्पर्धा गर्ने भन्दै तयारी थालिरहेका थिए । त्यसअलवा १४ औं महाधिवेशनलाई केन्द्रमा राखेर कोइराला परिवारबाटै शेखर कोइराला, तेस्रो धारका कृष्ण सिटौला र युवा नेता गगन थापाले आफ्ना गतिविधि गरिरहेका छन् । यसले देउवा शिविर चोइटिएको हेर्न चाहने कपटी आश मात्र होइन, कांग्रेसमै ठूलो सकारात्मक कम्पन ल्याउन सक्नेछ । यो कम्पन देउवा शिविरमा मात्र आउने छैन, फोहोर जमेको कांग्रेसी राजनीतिको तलाउमा अनेकन छालहरु आउने छ । परम्परागत गूटहरु ध्वस्त हुने मात्र होइन, विचार र आशाका आधारमा समीकरणहरु बन्ने सम्भावना उत्तिकै प्रबल हुनेछ ।

यस्तोमा, मैदानमा निधिको खुलेआम आगमनले नेतापुत्रहरुको आमनेसामने प्रतिष्पर्धा हुने मात्र देखाउँदैन, त्यसले नेतृत्वलाई खुला चुनौती पस्किरहेको गगन पुस्ताहरुलाई राहत पनि मिल्ने छ । कम्तिमा एक पुस्ता तल नेतृत्व झर्ने छ भने कार्यसमितिमा बहुल युवा सदस्यहरु पुग्ने सम्भावना रहँदा पदाधिकारीमा युवाको हस्तक्षेपकारी भूमिका स्वीकार्नुपर्नेछ । जसले निराशा, गरीबी, अभाव, आँशु र क्रोध बेचेर मताकार बढाउने कम्युनिष्टहरुसँग प्रतिष्पर्धा गर्दै आमजनतामा बहुल विचारबाटै विकास र समृद्धिसम्म पुग्न सकिने मार्ग पहिल्याउने बहस छेड्न सक्छ । भ्रष्ट, बिचौलिया, दलाल, माफिया, तस्कर, ठेकेदारको पञ्जामा पुगेको देशको राजनीति, शासन–प्रशासनलाई लिकमा ल्याउन सदाचारयुक्त समाज बनाउने प्रेरणा छर्न सक्छ ।

राजनीति अवकाशको समय बिताउनेहरुका लागि होइन भविष्य खोज्नेहरुका लागि हो भन्ने मान्यता स्थापित गराउने बाटोमा कांग्रेसको १४ औं महाधिवेशन केन्द्रित हुने हो भने देउवा–पौडेल पुस्ताका नेताहरुलाई सम्मानजनक बहिर्गमनको बाटो देखाउने रणनीतिमा अर्को पुस्ता अहिलेदेखि नै जुट्न जरुरी छ । त्यो पुस्ता संक्रमणकालीन भूमिका निर्वाह गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पनि अहिल्यैदेखि नै मानसिक रुपमा तम्तयार रहनसक्नु पर्दछ ।

rajan kuikel article
प्रतिक्रिया दिनुहोस्