११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु (भिडियो)


0
Shares

नविन शर्मा

काठमाडौं, असार १ । अव्यवस्थित यातायात प्रणाली, चर्को जाम र पार्किङको समस्याले राजधानीवासीलाई हैरान पार्दै आएको छ । 

यातायातका साधन दिनदिनै बढ्दै गए पनि पार्किङ गर्ने ठाउँ नहुँदा नागरिकलाई समस्या त छँदै छ, मुख्य बजारमा व्यापार व्यवसाय पनि चौपट हुँदै गएको छ । त्यसको समाधान गर्न काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङको अवधारणा अघि बढाएको छ ।

यातायातका साधन प्रयोगकर्ताको चाहनालाई मूर्त रुप दिन काठमाडौं महानगरपालिकाले आइतबारदेखि स्मार्ट पार्किङको अवधारणा लागू गरेको छ । महानगरपालिकाले निजी क्षेत्रको सहकार्यमा न्यूरोडका पाँच स्थानमा स्मार्ट पार्किङ सुरु गरेको हो ।

अब न्यूरोड पुग्ने सवारी चालकले स्मार्ट पार्किङमा सवारी राखेर सहजै घुम्न सक्ने भएका छन् । महानगरपालिकाले सवारी चालकलाई पार्किङ क्षेत्रबारे जानकारी गराउन पार्क केटीएम एप्ससमेत सञ्चालनमा ल्याएको छ । यो एप्समार्फत सवारी चालकले सवारी पार्किङको सुविधा लिनसक्ने छन् ।

अस्थायी रुपमा पाइलट प्रोजेक्टका रुपमा पहिलो पटक सुरु गरिएको स्मार्ट पार्किङलाई परिस्कृत गर्दै लगिने महानगरपालिकाले जनाएको छ । स्मार्ट पार्किङको उद्घाटन गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सडकमा जथाभावी पार्किङ गर्ने समस्याको अन्त्य गर्दै व्यवस्थित र सर्वसुलभ पार्किड सेवा दिन यो अवधारणा सुरु गरिएको बताए ।

न्यूरोडबाट सुरु गरिएको स्मार्ट पार्किङलाई दरबारमार्गलगायतका क्षेत्रमा विस्तार गर्ने तयारी महानगरपालिकाको छ । स्मार्ट पार्किङमा राखिने दुई पांग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारी साधनका लागि प्रतिघण्टा ८० रुपैयाँको शुल्क निर्धारण गरिएको छ । तर, यो व्यवस्था निकै महँगो भएको सवारी चालकहरुको गुनासो छ ।

हुन त, महानगरपालिकाले यसअघि पनि सवारीलाई व्यवस्थित गर्न भन्दै ‘पिक अप एन्ड ड्रप’ प्रणाली लागू गरेको थियो । त्यस बेला पनि यसको निकै विरोध भएको थियो । महानगरपालिकाले पछिल्लो समय सुरु गरेको स्मार्ट पार्किङको अवधारणा पनि कत्ति सफल हुने हो, त्यो भने हेर्न बाँकी छ ।

भिडियो हेर्नुहोस्