
विवेक खड्का
दाङ, असार १ । दाङका वडाध्यक्षहरुले सामूहिक रुपमा तरकारी खेती सुरु गरेका छन् ।
दाङको घोराही उप–महानगरपालिका वडानम्वर–१७ का अध्यक्ष खुसीराम चौधरी, वडानम्वर–१३ का अध्यक्ष रविलाल घर्ती र वडानम्वर–७ का अध्यक्ष खोपीराम चौधरीले सामूहिक रुपमा तरकारी खेती गरेर आयआर्जन गर्न थालेका हुन् ।
वडानम्वर–७ को घुस्रामा तीन विगाहा जग्गामा तरकारी खेती सुरु गरेको वडाध्यक्ष खुसीराम चौधरीले बताए । आर्थिक रुपमा आत्मनिर्भर हुन तरकारी खेतीमा लागेको उनको भनाइ छ ।
खुसीरामले आफूहरुले तरकारी खेती गरेपछि व्यवसायिक तरकारी खेती गर्नेहरुको संख्या बढ्दै गएको दावी गरे । ‘जनताको कामसँगै तरकारी खेती पनि गर्दै आइरहेका छौं । बेरोजगारी समस्या बढ्दै गएको समयमा रोजगारी आफ्नै घरआँगनमा छ भन्ने देखाउनु हाम्रो उद्देश्य हो,’ उनले भने ।
६ लाख रुपैयाको लागतमा तरकारी तरकारी खेती सुरु गरेको उनले बताए ।
वडाध्यक्ष खोपीराम चौधरीले मासिक ६० हजार आम्दानी हुने गरेको बताए । भिन्डी, करेला, काउली, बन्दा, टमाटरलगायतका तरकारी रोपेको भन्दै उनले बिहान साँझको समयमा आफूहरुले काम गर्ने र दिउँसोको समयमा काम गर्नका लागि २ जना कर्मचारी राखेको जानकारी दिए ।
घोराही बजारदेखि ४ किलोमिटरको दुरीमा रहेको वडाध्यक्षहरुको सामूहिक तरकारी खेतीमा तरकारी किन्नका लागि व्यवसायीहरु पुग्ने गरेका छन् । रासायनिक मलको बढ्दो प्रयोगले उत्पादनमा ह्रास आएको भन्दै अब अर्ग्यानिक खेतीमा जाने तयारी गरिरहेको वडाध्यक्ष रविलाल घर्तीले जानकारी दिए ।
घोराही बजारमा भारतबाट आउने तरकारीले गर्दा आफ्नो उत्पादनले राम्रो मूल्य नपाएको वडाध्यक्ष खुसीरामले गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्