Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


पाँचौं खेलमा बल्ल दक्षिण अफ्रिकालाई जितको स्वाद


0
Shares

कार्डिफ, असार १ । जारी विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाले आफ्नो पाँचौं खेलमा बल्ल जितको स्वाद चाखेको छ ।

यसअघि सुरुवाती तीन खेलमा लगातार पराजय झेलेको दक्षिण अफ्रिकाले चौथो खेल वर्षाका कारण रद्द हुँदा अंक बाँड्नु परेको थियो ।

शनिबार अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले जितको स्वाद चाखेको हो । उसका लागि क्विन्टन डि ककले ६८ र हासिम अमलाले ४१ रन बनाए ।

वर्षाका कारण ४८ ओभरमा झारिएको खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि १२६ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा दक्षिण अफ्रिकाले २८ ओभर ४ बलमा एक विकेट मात्र गुमाएर उक्त लक्ष्य पूरा गरेको हो ।

अफगानिस्तानका हजरतुल्लाह जाजीले २२, नूर अली जर्दानले ३२ र रशिद खानले ३५ रन बनाउन बाहेक उसका कुनै पनि ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।

दक्षिण अफ्रिकाका लागि इमरान ताहिरले चार र क्रिस मोरिसले तीन विकेट लिए ।

जितसँगै दक्षिण अफ्रिका अंक तालिकाको सातौं नम्बरमा रहन सफल भएको छ भने चारवटै म्याचमा पराजय झेलेको अफगानिस्तान पुछारमा रहेको छ ।