१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


जेठ अन्त्यसम्म ‘४७ प्रतिशतमात्रै पुँजीगत खर्च’


0
Shares

काठमाडौं, जेठ ३२ । चालू आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी हुँदा पुँजीगत खर्चको अवस्था नाजुक देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार जेठ अन्त्यसम्म ४७ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ ।

सरकारले यस आर्थिक वर्षका लागि तीन खर्ब १३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेकोमा हालसम्म एक खर्ब ५१ अर्बमात्रै पुँजीगत खर्च भएको हो ।

चालू आर्थिक वर्षका लागि छुट्याइएको पुँजीगत रकममध्ये एक खर्ब ६२ अर्ब ५७ करोड अझै खर्च हुन बाँकी छ ।

सरकारले दैनिक पाँच अर्ब ४१ करोड रुपैयाँ खर्च गर्नसकेमात्रै पुँजीगत खर्चको लक्ष्य हासिल हुने देखिन्छ ।

यद्यपि, अर्थ मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म पुँजीगत खर्चको अवस्था ७५ प्रतिशतमाथि हुने भन्दै आएको छ ।

यस अवधिसम्ममा आयोजना सकिएपनि रकम निकासा नहुँदा पुँजीगत खर्चको आकार कम देखिएको मन्त्रालयको भनाइ छ ।

सरकारले आयोजनाको पूर्वतयारीविना नै रकम छुट्याउँदा पुँजीगत खर्च हुन नसकेको अर्थविद् बताउँछन् ।

चालू आर्थिक वर्षमा वित्तीय व्यवस्थाअन्तर्गत् एक खर्ब ५५ अर्बमध्ये ६६ अर्ब १२ करोडमात्रै खर्च भएको पनि महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

चालू खर्च भने ७२ प्रतिशत पुगेको देखिएको छ । ८ खर्ब ४५ अर्ब चालू खर्च विनियोजनमध्ये ६ खर्ब ८ अर्ब खर्च भएको कार्यालयको तथ्यांक छ ।