१७ श्रावण २०८२, शनिबार | Sun Aug 3 2025


पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकियो, ‘असारदेखि पाइपबाटै तेल आयात’


0
Shares

प्रकाश लम्साल (इमेज)

बारा, जेठ ३२ । भारतको मोतिहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम सकिएको छ । प्राविधिक कामसमेत यसै साता सकिने जनाइएको छ ।

पाइप बिच्छाउने काम सम्पन्न भएसँगै वेल्डिङ गरेर जोडिएको पाइपलाई रेडियोग्राफी, जोडिएको विन्दुमा एक्सरे, स्क्यान प्लास्ट गरेर पाइप वेल्डिङकाक्रममा आएका खिया हटाएर चिल्लो स्टिल बनाउने काम यसै साता सकिने भएको हो ।

नेपाल आयल निगमका विज्ञ इन्जिनियर शरद पौडेलले सबै पाइप बिच्छ्याउने काम सकिएको र साना प्राविधिक काम पनि यसै साताभित्र सकिने बताए ।

एक सातापछि परियोजना पूर्णरुपमा सम्पन्न हुने र असारमै तेल आयात गर्नसकिने निगमले जनाएको छ । यसका लागि दुवै देशका अधिकारी काममा खटिएका छन् ।

यो परियोजना २४ अगस्ट २०१५ मा दुई देशबीच सम्झौता भएको थियो ।

कुल ६९.९ किलोमिटरमध्ये भारततर्फ मोतिहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर र नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिच्छ्याइएको छ ।

आयल निगमले पाइपलाइन बिच्छ्याउने काम सकिएसँगै सन्चालन गृहकार्य अघि बढाएको छ ।

पाइपलाइन सन्चालन, मर्मतलगायत तालिमका लागि निगमको इन्जिनियर प्राविधिकहरुको एक टोली साताअघि नै भारतको लखनउ गइसकेको छ ।

पाइपलाइन सन्चालनमा आएपछि नेपालको वार्षिक दुई अर्ब ढुवानीबाटमात्रै जोगिनेछ भने मिसावट, चोरी, लिकेज, बन्द, हडतालबाट यस क्षेत्र मुक्त हुने अपेक्षा गरिएको छ ।