
डम्मर बुढा मगर
बागलुङ, जेठ ३२ । बाग्लुङ र प्यूठानको सिमानामा पर्ने नाङ्गे क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको छ । प्राकृतिक सौन्दर्यले रमणीय रहेको यस क्षेत्रमा स्थानीय युवा पूर्वाधार निर्माण र प्रचार प्रसारमा जुटेसँगै पर्यटकीय गन्तव्यको रुपमा विकास हुन थालेको हो ।
बागलुङको निसी गाउँपालिका र प्युठानको गौमुखी गाउँपालिकाको सिमानामा रहेको नाङ्गे क्षेत्र प्राकृतिक सौन्दर्यले मनमोहक छ । स्थानीयको गुठी चरणको रुपमा रहेको यस क्षेत्रमा विभिन्न प्रजातिका गुरास, जडीबुटी, बन्यजन्तु समेत पाइन्छन् ।
सरकारले सन् २०२० लाई पर्यटकीय वर्षको रुपमा घोषणा गरेसँगै बागलुङको निसीखोला गाउँपालिका र प्युठानको गौमुखी गाउँपालिका पर्यटन प्रवर्द्धनमा सक्रिय भएका छन् । स्थानीय स्टार युवा क्लब सो क्षेत्रको प्रचार प्रसार, सडक सुविधा, पैदल मार्ग, सत्तल निर्माणका साथै होमस्टे निर्माणमा जुटेको छ ।
यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाइ पूर्वाधार निर्माणमा जुट्ने तयारी रहेको निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलको भनाइ छ ।
उता, गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी दुवै गाउँपालिका मिलेर यसको विकासका लागि बृहत योजना बनाएर अगाडि बढ्ने धारणा राख्छन् ।
समुद्री सतहदेखि झन्डै ३ हजार मिटरको उचाइमा रहेको यस क्षेत्रबाट कैयौँ हिम श्रृंखला, बागलुङ, प्यूठान, गुल्मीका अधिकांश रमणीय क्षेत्रहरुको समेत अवलोकन गर्न सकिन्छ । पर्यटकीय विकासको यथेष्ट सम्भावना बोकेका यस्ता क्षेत्रको पूर्वाधार विकास तथा प्रचार प्रसारमा जुटेर त्यसबाट लाभ लिन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्