
मनिता कोइराला
रसुवा, जेठ ३२ । रसुवाको उत्तरगया गाउँपालिका–१ स्थित तिरुगाउँ सडक सञ्जालमा जोडिएको छ । दुर्गम गाउँ सडक सञ्जाल जोडिएसँगै स्थानीयमा विकासको आशा पलाएको छ ।
रसुवाको मैलुङदेखि ३५ किलो र गोगने हुँदै साढे ७ किलोमिटर सडक विस्तार गरिएसँगै रसुवाको उत्तरगया गाउँपालिकाको तिरुगाउँ सडक सञ्जालमा जोडिएको छ । उत्तरगया गाउँपालिका, प्रदेश सरकार र संसद् विकास कोषको गरी १ करोड ७० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो ।
चार वर्षअघि गएको विनाशकारी भूकम्पले तिरु गोगने गाउँका करिब तीन सय परिवार विस्थापित भएका थिए । विस्थापितहरु अझै जिल्लाको खाल्टे, बोगटीटार, सातबिसे र नुवाकोटका विभिन्न स्थानका शिविरमा बसोबास गरिरहेका छन् । त्यस्तै विस्थापितको पुनर्स्थापनाका लागि उत्तरगया गाउँपालिकाको पहलमा तिरुमा एकीकृत बस्ती निर्माण प्रक्रिया अघि बढेको गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्साल बताउँछन् ।
स्थानीय तह निर्माण भई वर्षौंपछि जनताले जनप्रतिनिधि पाएसँगै सडक निर्माणको ट्रयाक निर्माण गरिएको हो । पहिलो पटक तिरु गाउँमा सडक पुगेसँगै अब अन्य पूर्वाधारको विकास हुँदै एकीकृत बस्ती निर्माणको प्रक्रियामा समेत सहयोग पुग्ने प्रदेश सभाका सदस्य प्रेम तामाङले बताए ।
उत्तरगया गाउँपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा हाल उत्तरगया गाउँपालिका–१ तिरुमा एकीकृत बस्ती बसाल्ने योजनासमेत तयार भइसकेको छ । अब, सडक निर्माणलगायत पूर्वाधार विकासमा जोड दिइएको सांसद मोहन आचार्य बताउँछन् ।
तिरुमा भूकम्प अघि करिब १ सय ५० घरधुरी बसोबास गर्दै आएका थिए । हाल तिरुमा करिब ६० परिवार अस्थायी टहरा निर्माण गरि बसिरहेका छन् । तर अधिकांश मानिस खाल्डेलगायतका विस्थापित शिविरमा बसिरहेका छन् । सडक पुगेपछि उत्तरगया गाउँपालिका वडा नं १ तिरुको मुहार फेरिएको र आवतजावतमा सहज भएको स्थानीय बताउँछन् ।
तिरुमा एकीकृत बस्ती निर्माणका लागि ५८ रोपनी जमिन खरिद गरि सकिएको र आगामी दुई बर्षभित्रमा निर्माण सम्पन्न गरि सकिने पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्