
काठमाडौं, जेठ ३१ । बैंक तथा वित्तीय संस्थाको ‘बिग मर्जर’बारे धारणा बाझिएको छ ।
आगामी मौद्रिक नीतिबारे सुझाव दिन नेपाल व्यवस्थापन संघले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा बिग मर्जरबारे बैंक तथा वित्तीय संस्थाका अध्यक्षहरुको धारणा बाझिएको हो ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले मर्जर समयको माग रहेको बताए । उनले जबर्जस्ती मर्जर नभइ सहुलियत दिएरै भएपनि मर्जर आवश्यक रहेको बताए ।
विदेशी बैंकसँग प्रतिस्पर्धा गर्न र बैंक बलियो बनाउन मर्जरको आवश्यकता रहेको उनले बताए ।
नेपाल वित्तीय संस्था संघका अध्यक्ष सरोजकाजी तुलाधरले भने बिग मर्जरको औचित्यता स्पस्ट नभएसम्म मर्जरका लागि बाध्यकारी बनाउन नहुने बताए ।
उनले बैंक तथा वित्तीय संस्थाले परियोजनामा वित्तीय सम्झौता गरिहाल्ने तर चाहिएको बेला पैसा नदिने अवस्थालाई आगामी मौद्रिक नीतिले कडाइ गर्नुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले आगामी मौद्रिक नीतिमा उत्पादनशील क्षेत्रलाई पनि ‘हेजिङ’को व्यवस्था गरिनुपर्ने बताए । हाल ऊर्जा क्षेत्रलाईमात्रै हेजिङको व्यवस्था छ ।
डेपलपमेन्ट बैंकर्स संघका महासचिव मनोजकुमार ज्ञवालीले लगानीयोग्य रकमसम्बन्धी समस्या कर्जाको स्रोतका कारण भएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने बताए । उनले विकास बैंकहरुलाई पनि क्रेडिट कार्ड सेवा दिने व्यवस्था हुनुपर्ने माग गरे ।
अर्थविद्द्वय दीपेन्द्रबहादुर क्षेत्री र डा. चन्द्रमणि अधिकारीले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गराउन सहयोग गर्ने र मूल्यवृद्धि सीमाभित्र राख्ने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए ।
कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यलगायतले आगामी मौद्रिक नीतिबारे सुझाव दिएका थिए ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आगामी मौद्रिक नीतिमा सबैको सुझाव समेट्ने आश्वासन दिए ।
प्रतिक्रिया दिनुहोस्