१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


लुम्बिनी पुग्ने सडक ‘लुम्बिनी भ्रमण वर्ष’मै धुलाम्य, पर्यटकलाई सास्ती (भिडियो)


0
Shares

दीपक घिमिरे 

भैरहवा, जेठ ३१ । गौतम बुद्धको जन्मस्थान लुम्बिनीसम्म पुग्ने निर्माणाधीन सडकखण्ड धुलाम्य भएकाले पर्यटकको आवतजावतका लागि समस्या देखिएको छ ।

२०७६ साललाई लुम्बिनी भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरिएको भए पनि निर्माणाधीन सडकको कामले अपेक्षित गति लिन नसक्दा चुनौती देखिएको हो ।

स्तरोन्नतिका लागि भैरहवादेखि लुम्बिनीसम्मको २० किलोमिटर सडक पूर्ण रुपमा भत्काइएको छ भने गौतम बुद्धको गृहनगर तौलिहवासम्मको अवस्था पनि उस्तै छ । लुम्बिनी औद्योगिक कोरिडोरमा रहेका दुई दर्जन बढी उद्योगको लागि दैनिक सयौं ट्रक, ट्रिपर लगायत ठुला मालवाहक गाडी धुलो उडाउँदै गुड्दा साना गाडी र मोटरसाइकलमा यात्रा गर्नेहरु धुलोले चिन्नै नसक्ने अवस्थामा हुन्छन् । धुलोकै कारण दुुर्घटना हुँदा कतिपयले त ज्यानसमेत गुमाएका छन् । सडक स्तरोन्नतिको काम लक्ष्य अनुसार अगाडि नबढ्दा पर्यटकले मात्रै सास्ती पाएका छैनन्, सडक छेउछाउका व्यापारी पनि उत्तिकै आजित बनेका छन् ।

सुरुसुरुमा केही द्रूतजस्तै देखिएको काम पछिल्लो समय भने ज्यादै मन्द गतिमा छ । लक्ष्यअनुसार काम भएको भए ५० प्रतिशत काम हुनुपर्थ्यो तर अहिलेसम्म ३५ प्रतिशतको हाराहारीमा मात्र काम सम्पन्न भएको छ ।

नदीजन्य पदार्थको अभाव तथा सडकमा आएका अवरोधका कारण लक्ष्यअनुसार काम गर्न नसकिएको उक्त सडक परियोजनाका परियोजना प्रमुख प्रदीपराज शाक्यको भनाइ छ ।

सन् २०१७ को जुलाईदेखि सुरु भएको आयोजनाको काम २०२० को जनवरीसम्म पुरा गर्नुपर्ने सम्झौतामा उल्लेख छ । आयोजनालाई समयमै सम्पन्न गर्न तथा धुलोको न्यूनीकरणमा थप पहल गर्नुपर्ने देखिन्छ ।

भिडियो हेर्नुहोस्