काभ्रे, जेठ ३१ । मण्डनदेउपुर नगरपालिकाले वर्षातको समयमा टिपर र ट्र्याक्टर सञ्चालन गर्दा निर्माणाधीन सडकमा हुने गरेको क्षतिलाई मध्यनजर गर्दै नगर क्षेत्रभित्रका सडकमा यही असार १ गतेबाट त्यस्ता सवारी साधन सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ ।
नगरपालिकाले असार १ गतेदेखि लागू हुने गरी भदौ ३० गतेसम्म नगर क्षेत्रभित्रको राष्ट्रिय राजमार्गबाहेक अन्य सडकमा टिपर र ट्र्याक्टर सञ्चालनमा रोक लगाउने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिएका छन् ।
नगरपालिकाको जेठ २६ गते बसेको कार्यपालिकाको बैठकको निर्णयअनुसार रोक लगाइएको उनको भनाइ छ ।
नगरपालिकाको निर्णयलाई बेवास्ता गरी कोही कसैले टिपर र ट्र्याक्टर सञ्चालन गरेको पाइएमा टिपरलाई प्रतिपटक रु २५ हजार र ट्र्याक्टरलाई प्रतिपटक रु १५ हजार जरिवाना गर्नेसमेत निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
तर, नगरपालिका क्षेत्रभित्रमा सडक तथा अन्य आयोजनाको निर्माण कार्य एवं निर्माण सामग्री ढुवानी गर्नको लागि ती साधनको आवश्यक परेमा भने सम्बन्धित वडाको सिफारिसका आधारमा नगरपालिकाको पूर्वस्वीकृति लिएर मात्रै सञ्चालन गर्न सकिने नगरपालिकाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्