Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब रुपैयाँ बराबरका सामग्री आयात


0
Shares

रसुवा । रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ । रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष ०७६/०७७ मा २७ अर्ब ७० करोड ९७ लाख १७ हजार मूल्य बराबरको सामग्री आयात भएको हो ।

यो आर्थिक वर्ष ०७५/०७६ को तुलनामा १८ अर्ब ३१ करोड ९५ लाख ८९ हजार कम हो । तथ्यांकअनुसार ०७५/०७६ मा ४६ अर्ब दुई करोड ९३ लाख ६ हजार मूल्य बराबरको सामग्री आयात भएको थियो ।

नाकामा कारोबार वृद्धि हुँदै जाँदा राजस्व संकलन पनि बढ्दै गएको थियो । गत आर्थिक वर्षमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण करिब पाँच महिना नाका बन्द भएकाले आयात घटेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

साउनमा तीन अर्ब १७ करोड ३६ लाख ८६ हजार, भदौमा ६ अर्ब ४७ करोड ६८ लाख ४१ हजार, असोजमा चार अर्ब ४७ करोड दुई लाख २९ हजार, कात्तिकमा पाँच अर्ब २९ करोड ६६ लाख ८० हजार, मंसिरमा तीन अर्ब ३१ करोड १० लाख ७२ हजार रूपैयाँ मूल्य बराबरको सामग्री आयात भएको कार्यालयको तथ्यांक छ ।

यस्तै पुसमा दुई अर्ब ८३ करोड १८ लाख २९ हजार, माघमा एक अर्ब ९४ करोड ६२ लाख २३ हजार र फागुनमा १५ करोड ६६ लाख ८७ हजार रूपैयाँ मूल्य बराबरको सामग्री आयात भएको हो ।

त्यस्तै असारमा चार करोड ६४ लाख ७० हजार मूल्य बराबरको सामग्री आयात भएको छ  । गएको चैत, वैशाख र जेठमा भने सामग्री आयात भएको थिएन ।