
काठमाडौं, जेठ ३० । सरकारले सगरमाथा आरोहणसम्बन्धी समस्या बुझेर सुझाव दिन समिति गठन गरेको छ ।
मन्त्रीस्तरीय निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा अध्ययन तथा सुझाव दिन समिति गठन गरेको हो ।
पाँच सदस्यीय समितिले हिमाल आरोहणकाक्रममा मृत्यु भएका र हराइरहेकालगायत आरोहणका क्षेत्रमा देखापरेका विविध विषयको अध्ययन गरी सुधारसम्बन्धी सुझाव दिनेछ ।
पर्यटन विभागले वसन्तकालीन मौसमका लागि सगरमाथा आरोहणका लागि ३८१ जनालाई अनुमति दिएको छ ।
सगरमाथामा ‘ट्राफिक जाम’ भएको र अधिक आरोहीका कारण आरोहीको मृत्यु भएको भन्ने समाचार आएपछि सरकारले अध्ययन गर्न समिति गठन गरेको हो ।
समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउने समय रहेको पर्यटन विभागका महानिर्देशक दण्डुराज घिमिरेले जानकारी दिए ।
समितिलाई पर्वतारोहण क्षेत्रमा देखापरेका नीतिगत, कानुनी, संरचनागत, कार्यविधिगत सुधारका लागिसमेत सुझाव दिन जिम्मेवारी तोकिएको छ ।
यस सिजनमा सगरमाथामामात्र ८ जनाले ज्यान गुमाए भने एकजना हराइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्