१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


सरकारले भारतसँग मल खरिद गर्ने


0
Shares

काठमाडौं, जेठ ३० । सरकारले भारतसँग सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट युरिया र डीएपी मल खरिद गर्ने भएको छ ।

यही जेठ २३ गतेको मन्त्रिपरिषद्को निर्णय बिहीबार सार्वजनिक गर्दै सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

सोही बैठकले विभिन्न चार मुलुकका लागि राजदूत सिफारिसको निर्णय गरेको छ । सिफारिस भएका राजदूतमा डा. वंशीधर मिश्र (बंगलादेश), डा. नारदनाथ भारद्वाज (कतार), महेशराज दाहाल (अष्ट्रेलिया) र दावाफुटी शेर्पा (स्पेन)का लागि छन् ।

बैठकले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सन्चालनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०७६ र सार्वजनिक खरिद (सातौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरेको छ भने इन्टरनेट सेवाको मूल्य समायोजन गरेको छ ।

सरकारका प्रवक्ता बाँस्कोटाकाअनुसार धितोपत्र रजतजयन्ती, शिखधर्मका संस्थापक गुरु नानकको जन्मजयन्ती र वाङ्यम शताब्दीपुरुष सत्यमोहन जोशीको शत्वार्षिकीका अवसरमा स्मारिका सिक्का टक्मारी चलन–चल्तीमा ल्याउन नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिइएको छ ।

बैठकले एकीकृत स्वास्थ्य शिक्षासम्बन्धी विधेयक तर्जुमा गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिएको छ भने काठमाडौं उपत्यका विकास प्राधिकरणको पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश मोहम्मद साविर हुसेनलाई तोक्ने निर्णय गरेको छ । रासस