कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारी, आगामी जेठभित्र महाधिवेशन गर्ने लगभग सहमति • Image Khabar Image Khabar


कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारी, आगामी जेठभित्र महाधिवेशन गर्ने लगभग सहमति


Imagekhabar
२७ श्रावण २०७७, मंगलवार १८:४३

कांग्रेसको १४औं महाधिवेशन सार्ने तयारी, आगामी जेठभित्र महाधिवेशन गर्ने लगभग सहमति

रोमन आचार्य र सुन्दर गुरुङ (इमेज)

काठमाडौं, साउन २७ । नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन सार्ने तयारी गरेको छ ।

आउँदो फागुन ७ गतेदेखि हुने भनिएको केन्द्रीय महाधिवेशन कोरोनालाई कारक बनाएर सभापति शेरबहादुर देउवाले इतर समूहको सहमतिमा सार्न लागेको चर्चा कांग्रेसमा छ ।

कानुनी सहुलियत प्रयोग गर्दै पार्टीका शीर्ष नेतृत्वबीच महाधिवेशन सारेर २०७८ सालको जेठभित्र गर्ने लगभग सहमति बनेको छ ।

वर्तमान कार्यतालिकामै पार्टीको १४औं महाधिवेशन नहुने ठोकुवा गरिरहनुभएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले तोकिएको मितिमा महाधिवेशन गराए नेतृत्वलाई फूलमाला लगाइदिन खोजेको चाहना पूरा हुने सम्भावना छैन ।

किनभने, कार्यतालिकाअनुसार काम हुन्थ्योे भने साउन १० गतेभित्र सक्नुपर्ने पार्टी समायोजनका काम साउन मसान्त आइसक्दासमेत थाती रहने थिएन ।

तालिकाअनुसार साउन मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गर्नुपर्ने हो ।

तर, निर्वाचन समितिकाअनुसार ११ जिल्लामा पार्टी समायोजनको काम अझै बाँकी नै छ ।

विधानले समायोजनको काम थाती रहँदा सदस्यता वितरण र नवीकरणमा रोक लगाएको छ ।

शीर्ष नेतृत्व भने कोरोना संकट देखाएर महाधिवेशन सार्ने कसरतमा होमिएका छन् ।

सहमहामन्त्री डा. प्रकाशशरण महतमात्र होइन, देउवा खेमाका अन्य नेताहरुको अनौपचारिक अभिव्यक्तिले कांग्रेसको १४औं महाधिवेशन फागुनमा नहुने स्पष्ट पार्छ ।

विधानको छिद्र प्रयोग गरेर एक वर्ष कार्यकाल लम्ब्याउँदा पनि नेतृत्वपंक्ति दल दर्तासम्बन्धी ऐन २०७३ को दफा १६ मा भएको व्यवस्थालाई उपयोग गरी छ महिना समय थप्ने कसरतमा लागेको छ ।

गत बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा महाधिवेशनको समय सार्ने छलफल, क्रियाशील सदस्यता १० लाख पुर्‍याउने सहमति र कोरोनाका कारण ‘सिल’ भएका क्षेत्रहरुलाई देखाएर केन्द्रीय कार्यसमिति बैठक बसेर समय थप्ने सम्भावना बढेको हो ।

असोज १५ गतेभित्र क्रियाशील तथा नवीकरणउपर उजुरीसम्बन्धी काम सक्ने हो भने भदौ महिनाभित्र केन्द्रमा क्रियाशील सदस्यहरुको नामावली आइसक्नुपर्छ । तर, यही गतिमा सम्भव देखिँदैन ।

तीनै तहमा सभापतिको संयोजकत्वमा बन्ने क्रियाशील सदस्य छानबिन समिति बनाउने कामको सुरसार नै भएको छैन ।

सभापति देउवा महाधिवेशन आफ्नो पक्षमा पार्न विधानको मर्म कुल्चिँदै विभागहरुमा आफूनिकटलाई भर्ती गर्ने, उता इतर समूह त्यही विभागमा भाग खोजेर बसिरहने हो भने कांग्रेसको महाधिवेशन जेठमा पनि सम्भव देखिँदैन ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्