
-विराज रोस्यारा/ईमेज
कैलाली । कैलालीको धनगढी क्षेत्रका युवाहरु हावाहुरीबाट पीडित भएका विपन्न परिवारको घर पुनर्निर्माणमा लागेका छन ।
स्थानीय, प्रदेश र संघीय सरकारले पुनर्निमाणमा चासो नदिएपछि उनीहरु पुनर्निमाणमा जुटेका हुन् ।
गत बिहीबार कैलालीमा आएको हावाहुरीले तहसनहस पारेका घरहरुको पुननिर्माणका लागि धनगढीका युवाहरु सहयोगमा जुटेका छन् ।
उपमहानगरपालिकाभन्दा टाढा रहेको दलित बस्तीमा उनीहरुको समूहले करिब ३० भन्दा बढी घरको पुनर्निर्माण गरिसकेको छ ।
सरकारको बेवास्ता देखिएपछि आर्थिक रुपमा अति विपन्न पीडित परिवारको घर निर्माणमा सहयोग गरेको कैलाली बहुमुखी क्याम्पसका स्ववियु सभापति चूडामणि भट्टको भनाइ छ ।
उक्त बस्तीका पुरुषहरू जति प्रायः सबै नै वैदेशिक रोजगारमा गएका छन् । घरमा महिला मात्र भएका कारण घर निर्माणमा उनीहरुले सहयोग गरेका हुन् ।
हावाहुरीले वितण्डा मच्याएको ७ दिन बितिसक्दा पनि सरकारका प्रतिनिधि कसैको उपस्थिति नभएको गुनासो गरेका स्थानीय युवाको भूमिकाबाट खुसी बनेका छन् ।
हावाहुरीबाट प्रभावित बनेका पीडितहरू अहिलेसम्म पनि भोकभोकै खुल्ला आकाशमा बस्न बाध्य छन्, उनीहरुले सरकारबाट कुनै किसिमको राहत पाउन सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्