
प्रकाश लम्साल (इमेज)
बारा, जेठ २९ । बारा–पर्सा औद्योगिक करिडोरमा रहेका उद्योगहरुले आफ्ना गाडी सहजरुपमा औद्योगिक क्षेत्रमा प्रवेश गर्न नपाएको गुनासो गरेका छन् ।
वीरगन्जबाट हुने आयात–निर्यात एवं औद्योगिक उत्पादनको सहज ढुवानीका लागि बाराको पथलैयादेखि वीरगन्जसम्म २७ किलोमिटर सडकखन्ड ६ लेनमा विस्तार भएको छ ।
यो औद्योगिक करिडोर क्षेत्रमा सडक निर्माणको काम सम्पन्न भएपनि उद्योगका मालवहाक गाडी मुख्य सडकखन्डबाट प्रवेश गर्न नपाउँदा समस्या आएको उद्योगीले गुनासो गरेका हुन् ।
ढुवानी साधनलाई मुख्य लेनबाट केही २/३ किलोमिटर टाढा प्वाइन्टबाट घुमेर सर्भिस लेन हुँदै उद्योगमा पुग्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ ।
मुख्य सडकसँगै जोडिएको औद्योगिक क्षेत्रमा बार र सर्भिस लेनपछि नाला बनाइएको जसले गाडी आवतजावत गर्न नमिल्न देखिन्छ ।
जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष सन्जय साहले उद्योगअगाडि नै उद्योग प्रवेश गर्ने बाटो बन्द गरी रेलिङ लगाइएको, ठूला लहरीहरुलाई मोड नै नपुग्ने गरी बाटो बनाइएको बताए ।
उनले तत्काल परियोजनाले सडक विस्तारका अन्य स्थानमा उद्योगलाई केन्द्रित गरेर बाटो निकाली दिनुपर्ने माग गरेका छन् ।
८० प्रतिशत निर्माण सकिएको पथलैयादेखि जितपुरसम्म र नितनपुरदेखि ड्राइपोर्ट चोकसम्म उद्योगभित्र पस्ने र निस्कने सवारीका कारण दिनहुँ सडक जामसमेत हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्