काठमाडौं, जेठ २९ । इंग्ल्यान्ड र वेल्सको संयुक्त आयोजनामा जारी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले अष्ट्रेलिया र पाकिस्तान भिडिरहेका छन् ।
टाउनटनमा भइरहेको खेल जितका लागि पाकिस्तानले ३०८ रनको चुनौती पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको साविक विजेता अष्ट्रेलियाले ४९ ओभरमा ‘अलआउट’ हुँदै ३०७ रन बनायो ।
पहिलो विकेटका लागि १४६ रनको साझेदारी गर्नेक्रममा डेभिड वार्नरले १०७ रन बनाए भने कप्तान आरोन फिन्चले ८२ रन जोडे ।
२७७ रन बनाउँदासम्म ४ विकेटमात्र गुमाएको अष्ट्रेलियाले बाँकी ३० रन जोड्दा पछिल्ला ६ विकेट गुमाएको थियो ।
पाकिस्तानका मोहम्मद अमिरले ३० रन खर्चेर ५ विकेट लिए । यस्तै, युवा खेलाडी शहीन शाह अफ्रिदीले २ विकेट झारे ।
तीन खेलबाट ४ अंकको अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहेको छ भने ३ खेलबाट ३ अंकको पाकिस्तान दोस्रो जितको खोजीमा छ ।
यसअघि, अष्ट्रेलिया भारतसित पराजित भएको थियो भने पाकिस्तानलाई वेस्ट इन्डिजले हराएको थियो ।
१० टोली सहभागी विश्वकपमा ३ खेलबाट ६ अंकका साथ न्यूजिल्यान्ड शीर्ष स्थानमा रहेको छ । समान ४ अंकका इंग्ल्यान्ड, भारत, अष्ट्रेलिया र श्रीलंका क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा रहेका छन् ।
३ अंकका वेस्ट इन्डिज, बंगलादेश र पाकिस्तान क्रमशः छैटौं, सातौं र आठौं स्थानमा छन् । दक्षिण अफ्रिकाको १ अंक छ भने विश्वकपको कान्छो सहभागी अफगानिस्तान अंकविहीन छ ।








प्रतिक्रिया दिनुहोस्