१३ श्रावण २०८२, मंगलबार | Wed Jul 30 2025


‘सर्लाही बालश्रमको पकेट क्षेत्र’


0
Shares

प्रकाश मैनाली (इमेज)

सर्लाही, जेठ २९ । देशभर बालश्रमविरुद्धको दिवस मनाइरहँदा विद्यालय जाने उमेरका लाखौं बालबालिका कठिनपूर्ण र जोखिमपूर्ण काम गर्न बाध्य छन् ।

कलिलै उमेरमा होटेल, उद्योग, कारखाना, इँटाभट्टा, सवारीसाधनलगायतका क्षेत्रमा बालबालिकालाई प्रयोग गरिएको अवस्था सर्लाहीमा पनि उत्तिकै छ ।

बालश्रमलाई संवैधानिकरुपमा पनि निषेधित गरिएको छ । तर, व्यवहारमा भने अवस्था भयावह छ ।

बालश्रम शोषणले नेपालमा लाखौं बालबालिका शिक्षालगायतका नैसर्गिक अधिकारबाट वञ्चित बनेका छन् ।

बालअधिकारको क्षेत्रमा काम गर्ने बालसंरक्षण संस्थाकी उपाध्यक्ष मुना उपाध्याय सर्लाही बालश्रमको पकेट क्षेत्र भएको बताउँछिन् ।

अधिकारकर्मीहरुले विशेषगरी विपन्न र अशिक्षित समुदायका बालबालिकाको अवस्था नाजुक रहेको बताएका छन् ।

अध्ययनका आधारमा नेपालमा रहेका धेरै बालश्रमिक अनौपचारिक क्षेत्रको श्रममा संलग्न छन् ।

उनीहरुले कृषि, घरेलु, भरिया, इँटाभट्टा, खानी, चियापसल र सडकमा श्रम गरिरहेका छन् ।

यस्तो किसिमको बालश्रम न्यूनीकरणका लागि सबै सरोकारवाला एकजुट भएर चेतनामूलक कार्यक्रममा लाग्नुपर्ने उपाध्यायको भनाइ छ ।

सर्लाहीमा बालश्रमिक कति छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग नभएपनि यो संख्या उच्च नै छ ।

शिक्षा विकास तथा समन्वय इकाइले अघिल्लो वर्ष सार्वजनिक गरेको तथ्यांकअनुसार सर्लाहीमा २५ हजार बालबालिका विद्यालयबाहिर रहेका छन् । ती अधिकांश बालबालिका श्रम गर्न बाध्य भएको अधिकारकर्मीको ठहर छ ।

बालश्रम न्यूनीकरणको ठूलो जिम्मेवारी स्थानीय सरकारमाथि पनि छ ।

उता, लालबन्दी नगरपालिकाका नगरप्रमुख मानबहादुर खड्का बालश्रम अन्त्य गर्ने उद्देश्यले सबै बालबालिकालाई विद्यालय पुर्‍याउने लक्ष्यका साथ काम गरिरहेको दाबी गर्छन् ।

भिडियो हेर्नुहोस्