
काठमाडौं, जेठ २९ । लिच्छविकालदेखि चल्दै आएको गुठीको अस्तित्व नामेट पार्ने गरी सरकारले ल्याएको गुठी विधेयकविरुद्धको आन्दोलनमा विदेशमा रहेका नेपालीहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
भारतको सिक्किममा रहेका नेवार समुदायले आफूहरु पुस्तौंदेखि भारतीय नागरिक भएपनि मूलजरो नेवार र नेपालकै धर्म, संस्कृति भएकाले यसलाई जीवित राख्ने गुठी प्रणाली जोगाउन सबैलाई आग्रह गरेका छन् ।
विधेयकले गुठी संस्कृति नै नस्ट गर्न खोजेकाले त्यसविरुद्ध आवाज उठाउनुपर्ने वर्ल्ड नेवाः अर्गनाइजेसन भारतले जनाएको छ ।
अर्गनाइजेसनले एक विज्ञप्ति जारी गर्दै नेवाःको संस्कृति, इतिहास र एकतामाथि हस्तक्षेप र राजनीति नगर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाल सरकारलाई जनताको समृद्धि र विकासमा केन्द्रित हुन आग्रह गर्दै सरकार आफैंले विकास नगरेको सांस्कृतिक सम्पदा विनास नगर्न सुझाव दिएको छ ।
त्यस्तै, वर्ल्ड नेवाः अर्गनाइजेसन बेलायतले पनि ऐक्यबद्धता जनाउँदै प्रहरी हस्तक्षेपको निन्दा गरेको छ ।
नेपालको विशिष्ट पहिचान बोकेको गुठी नस्ट गर्न खोजेको र यसले नेपाल मन्डल र नेपालको नै अस्तित्व समाप्त पार्ने भन्दै उसले विधेयकको विरोध गरेको छ ।
यसैगरी, पासा पुचः गुठी बेलायतले पनि विधेयकको विरोध गर्दै नेपालमा भइरहेको आन्दोलनप्रति समर्थन जनाएको छ ।
वर्ल्ड नेवाः गुथि संस्कृति समितिले विरोध जनाउँदै विधेयक फिर्ता लिन माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्