रक्षामन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको भेट • Image Khabar Image Khabar


रक्षामन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको भेट


Imagekhabar
२३ श्रावण २०७७, शुक्रबार २०:१०

रक्षामन्त्री पोखरेलसँग बङ्गलादेशका राजदूतको भेट

काठमााडौं, साउन २३ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सलेले शिष्टाचार भेट गर्नुभयो ।

सिंहदरबारस्थित उपप्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा उहाँहरुबीच पाँच दशकदेखि नेपाल र बङ्गलादेशबीच रही आएको अत्यन्त घनिष्ठ र बहुआयमिक मैत्रीपूर्ण सम्बन्धका विषयमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

सो अवसरमा उपप्रधानमन्त्री पोखरेलले दुई देशबीचको सम्बन्ध सरकार–सरकारबीचमा मात्र सीमित नभएर जनस्तरमा समेत प्रगाढ रहेको विचार व्यक्त गर्नुभएको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा सात वर्षको कार्यकाल पूरा गरी राजदूत साम्स केही समयपछि स्वदेश फर्कंदै हुनुहुन्छ ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, नेपाल बसाइको अवधिमा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेल्नुभएको छ ।

विभिन्न प्रकारका प्राकृतिक विपत्तिबाट प्रभावित भइरहने नेपाल र बङ्गलादेश साझा समस्याबाट गुज्रिरहेको हुँदा सहकार्य गर्दै अघि बढ्न आवश्यक रहेको बताउँदै उहाँले २०७२ को भूकम्पपश्चात् पीडितलाई उपलब्ध गराएको राहत र सहयोगका लागि राजदूत साम्सलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल र बङ्गलादेशका सेनाबीच सेनाबीच हुने संयुक्त अभ्याय, तालिम तथा प्रशिक्षणबाट सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको बताउँदै रक्षामन्त्री पोखरेलले संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वमा शान्ति स्थापना गर्ने कार्यमा अग्रणी भूमिका निर्वाह गर्न पाउनु गौरवपूर्ण भएको उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा राजदूत साम्सले दुवै देशबीच व्यापार, पर्यटन, जलस्रोत र लगानी प्रवद्र्धन लगायतका कार्यमार्फत सम्बन्धलाई थप घनिष्ठ र सुदृढ बनाउन सक्दो प्रयास गरेको धारणा विचार प्रकट गर्नुभयो ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई समयको गतिसँगै निरन्तरता दिन तथा आपसीहित र सहयोगका नयाँ क्षेत्र पहिल्याउँदै अघि बढ्नुपर्छ भन्दै उहाँले क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चमा दुई देशको साझा धारणा रहँदै आएको विचार व्यक्त गर्नुभयो ।

दुई देशका सेनाबीचसमेत असल र मैत्रीपूर्ण सम्बन्ध रहेको बताउँदै राजदूत साम्सले आगामी दिनमा दुई देशबीच पारस्परिक सहयोगको क्षेत्रलाई थप फराकिलो पार्दै जान बङ्गलादेश प्रतिबद्ध छ भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्