१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


निगमको उडानबारे मन्त्रालय ‘बेखबर’


0
Shares

सिवी अधिकारी (रासस)

काठमाडौं, जेठ २८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)को जापानको ओसाका उडान गर्ने योजना डेढ महिनापछि धकेलिएको छ ।

निगमले आगामी असार १९ गतेदेखि काठमाडौं–ओसाका सीधा उडान गर्ने योजना बनाएको थियो ।

तर, टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै निगमले निर्धारित् उडान तालिका परिवर्तन गरी आगामी भदौ १२ गते (२९ अगस्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ ।

पर्याप्त यात्री नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

उनले भने–‘जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो । एक महिनाको अवधिमा पाँच/सातजनामात्र यात्री भए । पर्यटकीय सिजन सकिएको र जापान जाने विद्यार्थीले पहिले नै अन्य एअरलाइन्सको टिकट लिइसकेकाले पनि यात्री कम भएको हुनसक्छ । अब मनसुन सकिएपछि भदौ १२ गतेदेखि ओसाका उडान गर्नेगरी तयारी गरेका छौं ।’

सहायक प्रवक्ता कोइरालाकाअनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रतिउडान दुईतर्फी काठमाडौं–जापान रु एक करोडभन्दा बढी निगमले आर्थिक घाटा व्यहोर्नुपर्छ ।

अगस्ट महिनामा उडान गर्दा निगमलाई राम्रै फाइदा पुग्छ । पर्यटकीय सिजन सुरु हुनका साथै महत्वपूर्ण चाडपर्वको समय पनि भएकाले यात्रीको कमी नहुने निगमको दाबी छ ।

अगस्टको उडानका लागि अहिले प्रतिउडान ७० देखि ८० टिकट बुकिङ भइसकेका सहायक प्रवक्ता कोइरालाले बताए ।

सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनीहरुको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ ।

मन्त्रालय नै ‘बेखबर’

यता, ओसाका उडान सरेको विषयमा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै बेखबर छ ।

मन्त्रालयले के–कति कारणले निर्धारित् उडान सर्‍यो भनेर ताकेता पनि गरेको छैन ।

मन्त्रालयका एक उच्च अधिकारीले निगमको ओसाका उडानबारे अनविज्ञता प्रकट गरे । ‘जापानको ओसाका उडान सरेकोबारे पत्रपत्रिका पढेर थाहा पाएँ । निगमभित्र के हुँदैछ, राम्रोसँग बुझ्न पाएको छैन । सन्चालक समितिमा पनि यो विषय छलफल भएको छैन’–उनले भने ।

निगमको ओसाका उडानबारे मन्त्रालय र सन्चालक समितिलाई जानकारी नगराइएकोबारे सहायक प्रवक्ता कोइरालाले निगमको निर्णयबारे अनौपचारिकरुपमा जानकारी गराइएको स्पस्ट पारे ।

निगमले ‘वाइडबडी ए–३३०’ जहाजमार्फत् लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरेको थियो ।

सुरुमा अप्रिल महिनामा उडान गर्नेगरी जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब)सँग उडान अनुमति मागेको थियो । तर, अनुमति पाउन सकेन ।

पछि जुलाई ४ का लागि उडान अनुमति पायो । त्यसअनुरुप आवश्यक तयारी तीव्र बनाएको थियो । टिकट बुकिङ खुलायो । एक महिनाको अवधिमा काठमाडौंदेखि ओसाका दुवैतर्फ जम्मा पाँचदेखि सात सिटमात्र बुकिङ भयो ।

उसैपनि घाटा व्यहोरिरहेको निगमले थप घाटा खानेगरी तत्काल उडान नगर्ने निर्णय गर्‍यो ।

जापानसहितका अन्य लामा गन्तव्यमा निगमका वाइडबडी उडानबारे अझै अन्यौलता रहेको छ । मन्त्रालयका अधिकारीको निगमका लामा गन्तव्यमा उडान भर्नेबारे प्रस्ट धारणा छैन ।

अनेकौं चुनौतीको सामना गर्दागर्दै पनि निगमले आफ्नो आफ्नो व्यावसायिक योजनालाई भने निरन्तरता दिएको छ ।

उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्नेगरी आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।

निगमको वाइडबडी जहाजले हाल पुराना गन्तव्य भारतको नयाँदिल्ली, बैंगलोर, कतारको दोहा, दुबई र हङकङमा दैनिक १० देखि ११ घन्टा उडान गर्दै आएको निगमले जनाएको छ ।

निगमकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ ।

निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सन्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।

काठमाडौं–जापान उडानको समयावधि ६ घन्टाकोे छ भने ओसाका–काठमाडौं साढे सात घन्टाको उडान हुनेछ ।

निगमले अहिले भारतको नयाँदिल्ली, बैंग्लोर, मुम्बई, मलेसिया, सिंगापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई ‘न्यारोबडी ए–३२०’ जहाज र एक ‘बोइङ ७५७’ जहाज छन् ।