
कैलाली । कैलाली र कञ्चनपुरका हावाहुरी पीडितको विचल्ली भएको छ ।
प्रदेश सरकारसहित विभिन्न निकायले राहतको घोषणा गरेको भए पनि पीडितले अझै पाउन सकेका छैनन् ।
हावाहुरी आएको पांच दिन बितिसक्दा समेत पीडितहरुले आजसम्म राहत पाउन सकेका छैनन् । राहत नपाउंदा यस क्षेत्रका स्थानीय खुल्ला आकास मुनि रात बिताउन बाद्य छन् ।
हावाहुरी गएको दोस्रो दिन केहि जनप्रतिनिधि आएर घर हेरेपनि राहत दिन कोहि नआएको पीडितको गुनासो छ ।
हुरीले घर र घरमा रहेका सामान नष्ट गरेपछि पीडित अहिले के खाने र घरको छाना कसरी छाउने भन्ने चिन्तामा छन् ।
अधिकांश पीडितहरुको अवस्था दयनीय र कहालीलाग्दो छ । झण्डै ४० डिग्रीको गर्मी, त्यसमा वस्न र खान नपाएर छटपटिरहेका पीडितहरुले राहत स्वरुप त्रिपाल मात्रै होईन कुनै खाद्य सामाग्री समेत पाउन सकेका छैनन् ।
अहिले हावाहुरी पीडित परिवारलाई सांझ विहानको छाक टार्न पनि निकै मुस्किल भईरहेको छ । त्यसमा सर्प किराहरुको डरले समेत पीडित परिवार राम्ररी सुत्न नसकेको गुनासो गर्छन् ।
यता, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी भने स्थानीय जनप्रतिनिधिले समन्वय नगर्दा पीडितसम्म राहत पु¥याउन समस्या भएको बताए ।
नयां संरचना अनुसार स्थानीय र प्रदेश सरकार घर आगनै आएको भएपनि कैलाली कञ्चनपुरका हावाहुरी पीडितहरुले अहिलेसम्म त्यसको अनुभुती गर्न पाएका छैनन् ।
गत विहीवार आएको हावाहुरीले कैलालीमा दुई जनाको मृत्यु भएको थियो भने ८४ जना घाईते भएका थिए ।
७ हजार ८ सय ४४ घरधुरी प्रभावित र दुई हजार दुई सय १६ घर पुर्ण रुपमा क्षति भएको जिल्ला आपतकालीन सञ्चालन केन्द्र कैलालीले जनाएको छ ।
हालसम्म एक हजार तीन सय ४८ थान त्रिपाल मात्रै राहत स्वरुप बाडिएको छ । यस क्षेत्रमा अहिलेसम्म कुनै पनि खाद्य सामाग्री वितरण भएको छैन ।
वढी क्षति भएका स्थानीय तहले मेस सञ्चालन गरेर खानाको व्यवस्था गर्ने भनेकोमा पीडितहरुलाई खानाको व्यवस्था हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्