
-दीपक घिमिरे/ईमेज
रुपन्देही । रुपन्देहीमा डिएपी मल अभाव भएको छ । धान रोपाईंको सिजन सुरु हुन लाग्दासम्म यस क्षेत्रमा मलको अभाव भएपछि किसानको चिन्ता चुलिएको छ ।
धान रोपाईका लागि रुपन्देहीमा मात्र ३० हजार मेट्रिकटन डिएपी मल आवश्यक परेपनि पर्याप्त मलको अभावमा किसान चिन्तित बनेका हुन् । गोदाममा युरिया मल प्रशस्त भए पनि डिएपी मल भने छैन ।
अहिलेसम्म गोदाममा भएका डिएपी मल बाडिए पनि केही दिनदेखि नआएकाले अभाव भएको कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रिय कार्यालय भैरहवाले जनाएको छ ।
कार्यालयका अनुसार ६० प्रतिशत किसानको घरमा मात्र डिएपी मल पुगेको छ ।
रोपाईको काम सुरु हुन लाग्दा समेत डिएपी मल अभाव भएपछि आफुहरु समस्यामा परेको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का कृषक विन्दु कुमार चौहानको गुनासो छ ।
कृषकहरुका लागि रोपाईका बेला अन्य मल भन्दा डिएपी चाहिने भएपनि पर्याप्त मात्रामा नपाईएपछि आम कृषकहरु समस्यामा परेको कृषक चौहानको गुनासो छ ।
कृषक सेवा समिति रुपन्देहीका अध्यक्ष देव धवलले किसानलाई समयमै मलखाद्य उपलब्ध गराउनुपर्ने बताउँछन् ।
अन्य मुलुकको तुलनामा नेपालमा मलखाद्यको मुल्यमा पनि अन्तर रहेको जसले गर्दा सीमावर्ती क्षेत्रका अधिकांश किसान मलखाद्यको लागि भारतीय बजार धाउनुपर्ने बाध्यता रहेको धवल बताउँछन् ।
कृषि सामाग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय भैरहवाका क्षेत्रीय प्रबन्धक राजेन्द्र बहादुर कार्कीले भने गोदाममा हुँदासम्म डिएपी मल बितरण गरिएको बताउँछन् ।
सरकारले अनुदानको रकम बढाएको र पहिलाको तुलनामा कृषि सामाग्री कम्पनी केन्द्रीय कार्यालयले ४ लाख मेट्रिकटन मल बढी खरीद गर्ने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्