१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


फस्टायो होमस्टेः अयोध्यापुरी मध्यवर्ती होमस्टेमा पर्यटकको चाप(भिडियो)


0
Shares

-राजु चौधरी/ ईमेज:

चितवन, असार ३१ । चितवनमा पछिल्लो समय होमस्टे व्यवसाय फस्टाउन थालेको छ ।

होमस्टेप्रति आन्तरिक र वाह्य पर्यटकको आकर्षण बढेकाले होमस्टे व्यवसाय फस्टाएको हो ।

जिल्लाको माडीस्थित अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टेमा आउने पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । यसले स्थानीयको जीवनस्तर समेत उकासिएको छ । 

चितवनको माडीस्थित शिवद्धारमा २०७२ सालको माघबाट अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्ट संचालनमा आएसंगै यहाँका स्थानीयको दैनिकी फेरिएको छ ।

होमस्टे संचालन भएको छोटो समयमै सोँचेभन्दा सफलता मिल्न थालेपछि स्थानीयमा खुशीयाली छाएको छ ।

होमस्टेको सफलताले स्थानीयको जिवनस्तर र दैनिकीमा समेत परिवर्तन आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जसंग जोडिएको यस क्षेत्रका बासिन्दा वन्यजन्तुबाट धेरै नै पीडा भोग्न बाध्य थिए ।

तर होमस्टे संचालन गरी अहिले वन्यजन्तुबाट पीडित भएका स्थानीयहरुसमेत संरक्षणमा जुटेको अयोध्यापुरी मध्यवर्ती सामुदायीक होमस्टेका अध्यक्ष मोहन बहादुर पुन मगर बताउँछन् ।

शिवद्धार गाउँमा होमस्टे सञ्चालनका लागि राम्रो पूर्वाधार बनेको छ ।

होमस्टे संचालनले आर्थिक उपार्जन मात्र नभई उनीहरुको कला सांस्कृतिको समेत संरक्षण भएको छ ।

अहिले उनीहरुको दिनचर्या नै गाउँमा आउने पाहुनाहरुलाई स्वागत सत्कार र सेवामा नै बित्ने गरेको छ  ।

होमस्टे संचालन भएपछि जिविकोपार्जनमा समेत सहजता आएको होमस्टे संचालक गौमाया पुन बताउँछिन् ।

साँढे २ वर्षको अवधिमा ८ हजार बढी स्थानीय तथा बाह्य पर्यटकहरु होमस्टेमा आइसकेका छन् । जसबाट ४० लाख रुपैयाँ नाफा होमस्टे संचालकले गरेका छन् ।

अहिले केही मात्रामा आउने गरेका विदेशी पर्यटक पनि असोजदेखी नियमित गराउने अभियान थालिएको छ ।

माडी संरक्षित वन्यजन्तु बाघ, गैंडा, भालु हात्ती, जरायोलगायत चराचुरुङगीको अवलोकनका लागि महत्वपूर्ण क्षेत्र हो भने विभिन्न धार्मिक कुण्ड तथा क्षेत्रले प्रख्यात छ ।

भारतबाट समेत धार्मिक पर्यटक आएर पुजा गर्ने परशुराम कुण्डसमेत माडीमा रहेको छ ।

निकुञ्जले सौराहा–पटिहानी र पटिहानी–माडीको पर्यटक पदमार्ग निर्माण गरेपछि माडीमा पर्यटकीय गतिविधिले गति लिएको छ ।