२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


दुई युवाले सुरु गरेको माछापालन व्यवसाय नमुना बन्दै


0
Shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका दुई युवाले व्यावसायिक माछापालन सुरु गरेपछि अन्य युवा पनि आकर्षित भएका छन् ।

स्थानीय सुजन राम्जाली र इन्द्र थापाले २० लाख रुपैयाँको लगानीमा २०७५ सालबाट माछापालन सुरु गरेका हुन् ।

उनीहरुले १४ वर्षसम्म पोखरा बसेर माछापालनसम्बन्धी आवश्यक सीप र ज्ञान आर्जन गरी आफ्नै गाउँमा फर्केर व्यवसाय सुरु गरेका हुन् ।

राम्जाली र थापाले तातोपानी रेन्वो ट्राउट फर्म दर्ता गरी ८ वटा पक्की पोखरीमा शुरु गरेको यो व्यावसायमा अहिले २५ हजार माछाका भुरा हुर्किंदै छन् ।

त्यसैगरी ३ सय ५० किलोग्राम माछा बिक्री गर्न योग्य भएको र उपभोक्ताहरु फर्म खोज्दै आउने गरेकाले बजारको समस्या नरहेको उनीहरु बताउँछन् ।

ठाडो खोलाबाट आउने चिसो पानी पाइपमार्फत ल्याएर आठ वटा पक्की पोखरीमा उनीहरुले माछापालन गरिरहेका छन् ।

उनीहरुले गरेको माछापालन हेर्न पर्यटकसमेत पुग्न थालेका छन् । माछापालनबाट वार्षिक ७ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन् ।